नारायणपुर एयरपोर्टको प्रक्रिया अघि बढ्दा ल्याएको तरंग

अन्जना बिश्वकर्मा,
दाङ, १ जेठ ।
दाङको नारायणपुरमा विमानस्थल निर्माणकोलागि वातावरणीय प्रभाव मूल्यांकन(ईआइए) तयारीको काम अघि बढेपछि जिल्लामा तरंग ल्याएको छ । यो कदमलाई टरिगाउँ एयरपोर्टको विकल्पका रूपमा ल्याईएको भन्दै सर्वत्र रूपमा विरोध हुने गरेको छ ।
नारायणपुर एयरपोटको ईआईएकालागि गएको बैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ । नागरिक उड्डयन प्राधिकरणले ईआईए गर्न लागेको इन्जिनियर मुरारी भण्डारीले बताए । प्राकृतिक, भौतिक प्रणाली,जैविक प्रणाली,सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा कस्तो असर पार्छ, भनि ईआईए गर्न लागिएको हो ।
आन्तरिक उडानकालागि घोराही उपमहानगरपालिका वडा नं. ८ र ९ मा पर्ने नारायणपुरमा एयरपोर्ट निर्माणकालागि ईआईए थालिएको हो ।
३२०० मिटर लम्बाई र ४५ मिटर चौडाई रहने, ट्याक्सि मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन,पार्किङ क्षेत्र, जलवायु मापण केन्द्र, राडर, इन्धन डिपो, उद्दार तथा अग्नी नियन्त्रण स्टेशन,स्टाफ क्वाटर, प्रहरी पोष्ट, प्रकोप सहायता केन्द्र, स्टाफ क्वाटर निर्माण हुने गरि तयारी गरिएको छ । त्यसकालागि ३ सय ६४ हेक्टर जग्गा चाहिन्छ ।
दाङको तुलसीपुरमा २०११ सालमा स्थापना भएको विमानस्थल छ । त्यो विमानस्थलमा हाल १९ सिटे टुइनेटर विमान मात्रै अवतरण गर्न सक्छ । जहाँ हाल ७५० मिटर लम्बाई रहेको धावनमार्ग छ । त्यसलाई बढाउनकालागि पहल भइरहेको अवस्थामा नारायणपुरमा ईआईए गर्न लागिएको भन्दै त्यसले तुलसीपुरको विमानस्थलको विकल्पमा काम अघि बढाएको भन्दै विरोध सुरू भएको छ । केही दिन अघि मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री धनबहादुर मास्कीलगायतको टोलीले सोही टरिगाउँ विमानस्थलमा पुगेर केन्द्रले नहेरे प्रदेशले भएपनि त्यो विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।
केन्द्रले चासो नदिएपछि प्रदेशबाट गर्ने आस्वासन 
केन्द्रले चासो नदिएपछि तुलसीपुरको टरिगाउँ एयरपोर्टमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र मन्त्री धनबहादुर मास्की पुगे । त्यहाँ पुगेर उनीहरूले प्रदेशले नै यो विमानस्थलको धावनमार्ग विस्तार गर्ने बताए । मुख्यमन्त्रीले एयरपोर्टमा गएर प्रदेशले काम अघि बढाउने भन्नु र प्राधिकरणले नारायणपुरमा विमानस्थल निर्माणकालागि ईआईए गर्न थाल्नुले यो विमानस्थलमा सरकारले चासो नदिएको हो की भन्ने भान भएको छ ।
यस अघि एयरपोर्ट निर्माण गर्ने ठेकेदारसंग पुनः कुराकानी भएको भन्दै ७० करोडमै १६ सय मिटर लम्बाई हवाई मार्ग विस्तार गर्न सकिने मुख्यमन्त्री चौधरीले बताए ।“ नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रदिप अधिकारीले यस अघि सोही एयरपोर्टको इन्जिनियरिङ गर्दा ९ अर्ब लाग्ने भन्नु भएको थियो”, मुख्यमन्त्री चौधरीले भने“तर, ७०÷७२ करोडमै काम गर्न सकिने गरि कुराकानी भएकाले त्यही अनुसार काम अगाडी बढ्छ ।”
हाल रहेको ७५० मिटर धावन मार्गलाई विस्तार गरि १६ सय मिटर बनाउनकालागि कपास विकासको जग्गा भए पुग्ने समेत उनले बताए । उनका अनुसार त्यहाँ रहेको मन्दिर र खानेपानी ट्याङकी हटाउनकालागि पनि सम्बन्धितलाई निर्देशन दिइसकेका छन् । त्यो हटाउन लाग्ने खर्च प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री चौधरीले बताए ।“महेन्द्रनगरमा पनि उद्योग वाणिज्य संघ, प्रदेश सरकार, स्थानीय सरकार मिलेर विमान बनाईएको छ”,उनले भने “हामी पनि त्यहाँको अभ्यास अनुसार काम गर्छौं ।” साथै केही घरहरू भत्काउनु पर्ने अवस्था आएमा ति घरहरू पनि भत्काउने मुख्यमन्त्री चौधरीले बताए ।
त्यस असरमा विनाविभागिय मन्त्री धनबहादुर मास्कीले टरिगाउँ एयरपोर्ट प्रदेशकै गौरव र इतिहास बोकेको एयरपोर्ट रहेको बताए । सोही एयरपोर्ट विस्तारकालागि प्रधानमन्त्री र पर्यटन मन्त्रीसंग पनि कुराकानी भइसकेको भन्दै केन्द्रीय सरकारले पनि अहिले चासो दिएको बताए ।  आगामी बजेटमा एयरपोर्ट विस्तारकालागि बजेट विनियोजन हुने समेत मन्त्री मास्कीले बताए ।
टरिगाउँ एयरपोर्टमा हाल सीता एयर र नेपाल एयरलाईन्सले उडान भरिरहेका छन् । २०११ सालमा उक्त एयरपोर्ट स्थापना भएको हो । यो बीचमा कहिल्यै खुल्ने र कहिल्यै बन्द हुने क्रम चलिरहेको थियो । निजि क्षेत्रको पहलमा पनि एयरपोर्ट सञ्चालनको पहल भएको थियो । साभारः अग्रिम साप्ताहिक