तुलसीपुर उपमहानगरले किस्तामा विद्युत महशुल तिर्ने

दाङ,२० वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले किस्ताबन्दीमा विद्युत महशुल तिर्ने गरि तयारी गरेको छ । उपमहानगरपालिकाको दशौं नगरसभाले प्राधिकरणसंग समन्वय गरि किस्तामा महशुल तिर्ने निणर्य गरेको हो । तर, निणर्य भएको एक महिना पुग्ने लाग्दा पनि कार्यान्वयन भने भएको छैन ।

अहिलेसम्म पनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरसंग कुनै समन्वय नभएको वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले बताए । उनका अनुसार उपमहानगरपालिकाले ४ बर्षदेखि महशुल बुझाएको छैन । महशुल नबुझाउँदा एक पटक उपमहानगरपालिकाकै विद्युत पनि काटिएको थियो ।


तत्कालिन नगरप्रमुख घनश्याम पाण्डेले विद्युत बक्यौता तिर्ने मौखिक प्रतिबद्धता जनाएपछि विद्युत सूचारु गरिएको थियो । तर, पनि एक बर्षसम्म त्यो प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन । लिखित सम्झौताकालागि ताकेता गर्दा पनि उपमहानगरपालिकाले त्यो मान्न तयार नभएको समेत फर्सालले बताए ।

उपमहानगरपालिकाले बजार भित्रका सडकबत्तिको विद्युत महशुल बुझाएको छैन। उपमहानगरपालिकाले कार्यपालिका बैठकमा महशुल मिनाहाालागि मन्त्रालयमा माग गर्ने र किस्ता-किस्तामा हिसाब बुझाउने निणर्य गरेको छ ।