लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

दाङ, १९ बैशाख ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज विश्वासको मत लिँदै छन्।

बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। शुक्रबार चौधरीसहित अन्य तीन विनाविभागीय मन्त्रीले सपथ लिएका थिए।

शुक्रबार मन्त्री बनेका माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोष पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन्।


चौधरी कांग्रेससहितका ८ दल र १ स्वतन्त्र प्रदेशसभा सदस्य सहित ५३ प्रदेस सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४ जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ।

माओवादीका ११ मध्ये एक जना तुलाराम घर्ती सभामुख छन्। ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ।

विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद विस्तार गर्ने मुख्यमन्त्री चौधरीको तयारी छ। यसअघि बनेको नेकपा एमाले नेता लिला गिरी नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो।