यातायात मजदुरका सन्तानलाई स्वास्थ्य र शिक्षामा छुट

तुलसीपुर,२६ चैत । दाङका तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर संघको पहलमा यातायात क्षेत्रमा काम गर्ने मजदुरको छोराछोरीलाई बिद्यालयमा भर्ना तथा मासिक शूल्कमा छुट दिने भएका हुन् । संघका केन्द्रीय उपमहासचिब घनश्याम डाँगीका अनुसार तुलसीपुरका आधा दर्जन बढि विद्यालयले छुट दिन लागेका हुन् ।

तुलसीपु स्थित डि भाईन टेम्पल एकाडेमी,ज्ञान ज्योति फाउन्डेशन, सगरमाथा बालबाटिका इगलिस स्कुल,आदर्श एकाडेमी,पि एण्ड पि पाठशाला,राप्ती पब्लिक इगलिस बोर्डिङ स्कुल,त्रिमूर्ति हिमचुली इग्लिस बोर्डिङ स्कुललगायतले १५ देखि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेका छन् ।

मजदुरी गरेर छोराछोरी पढाउनेहरुका अबस्था निकै नाजुक हुने भएकाले उनीहरुको हरेक शूल्कमा छुट दिनकालागि आफूहरुले पहल गरेको संघका प्रदेश संयोजक उदयबहादुर विकले बताउनुभयो ।“हामी सबै मजदुरी गरेर कमाउन हो”,उहाँले भन्नुभयो“यातायात मजदुरको अबस्था निकै दयनीय छ, त्यसैले हामीले मजदुरका छोराछोरीलाई पढाउनकालागि पहल गरेका हौं ।”

त्यस्तै तुलसीपुरका केही अस्पतालमा उपचारमा पनि केही छुटको ब्यबस्था गरिएको संघका जिल्ला अध्यक्ष छबिप्रसाद बस्नेतले बताउनुभयो ।


राप्ती लाइफ केयर अस्पताल र तुलसीपुर सीटी अस्पतालले उपचारमा पनि केही प्रतिशत छुट दिन थालेका छन् । जिल्लाका सबै विद्यालय तथा हस्पिटलमा छुटको ब्यबबस्थाकालागि समेत छलफल भइरहेको समेत उहाँले बताउनुभयो ।