टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्गलाई विस्तार गर्ने तयारी

दीपक बोहरा,
तुलसीपुर, १८ चैत ।
दाङको तुलसीपुर १२ स्थित टरिगाउँ विमानस्थल विस्तारकालागि पहिलो विकल्प छनौट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर टरिगाउँ विमानस्थल विस्तार गर्न सकिने गरि विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । ति मध्ये पहिलो विकल्पमा काम अगाडी बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताउनुभयो ।“क्यानले ४ वटा विकल्प दिएको थियो”,उहाँले भन्नुभयो“ति मध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौं ।”

पहिलो विकल्प अनुसार पुरानै धावनमार्गलाई बढाउने गरि तयारी गरिएको उहाँको भनाई छ । हाल रहेको ७५० मिटर धावनमार्गलाई विस्तार गरि १२३० मिटर लम्बाई बनाउने गरि तयारी गरिएको उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । तुलसीपुर उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक समेत रहनुभएकी चौधरीले सोही स्तरको विमान बनाउनकालागि ५७ विघा जग्गा चाहिन्छ । अहिले एयरपोर्टको ३९ विघा जग्गा छ । बाँकी सामुदायिक बनको १२ विघा, अधिग्रहण १.२ विघा र सार्वजनिक जग्गा ४.८ विघा लैजानुपर्छ ।

यसरी एयरपोर्ट बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख ५४ हजार ८ सय लागत अनुमान गरिएको छ । सोही अनुसार ‘फाइल’ सम्बन्धित निकायमा पठाईसकेको उहाँले बताउनुभयो । आगामी बर्षको बजेटमा त्यो कुरा उल्लेख हुने गरि आफू लागेको समेत उहाँले बताउनुभयो ।

सोही विकल्प अनुसार फुटपाथ तथा संरचना निर्माणको कामकालागि २ अरब ७६ करोड ५० लाख ९४ हजार ८ सय ६०, भवन लगायतका सामग्रीहरुकालागि ३ अरब १३ करोड ४२ लाख ४० हजार, विबिध कामकालागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणकालागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ ।

यो विकल्प अनुसार अहिले रहेका घरहरु फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी एयरपोर्ट बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम‘भिजिविलिटी’ हुँदा अवतरण गर्न सक्ने अबस्था रहदैन । रातको समयमा हवाई अवतरण गर्नकालागि थप ४५० मिटर जमिन चाहिन्छ । यो डिजाईन अनुसार काम गरेमा ५ बर्षमा एयरपोर्ट बन्नेछ । यसमा आईई र ईआइए गर्न २ बर्ष लाग्छ । आईईई र ईआईई गर्नुकासाथै जग्गा अधिग्रहण गरेपछि तीन बर्ष लाग्छ ।

उहाँका अनुसार क्यानका इन्जिनियरहरुले यस अघि पोखराको अन्तराष्ट्रिय विमानस्थलको पनि डीपीआर गरेर सफलता पाएको भन्दै टरिगाउँमा पनि सफलता पाउने अपेक्षा रहेको छ ।

टरिगाउँ एयरपोर्टको इतिहास निकै पुरानो छ । २०११ सालदेखि विमानले उडान थालेको थियो । २०११ सालदेखि २०४२ सालसम्म नियमित रुपमा विमान सञ्चालनमा भएको एयरपोर्ट भएको हो । त्यतिबेला सिधा दाङ काठमाडौं जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन । बुटवल स्थित तिनाउ नदीमा पनि पुल निर्माण भएको थिएन ।


त्यसैले यात्रुहरु रुपैडिया र भैरहवा भएर भारतीय भूमी हुँदै विराटनगर वा काठमाडौं जानुपर्ने परिस्थिति थियो । केही वर्ष अवरोध भए पनि त्यसपछि माओवादीको युद्धकालमा ०५६ सालसम्म पनि यहाँबाट विमान सञ्चानल भएको थियो ।

केही समय अवरोध भए पनि ०५८ सालसम्म विमान सेवा जारी थियो । त्यो बिचमा केही वर्ष फेरी विमान सेवा अवरुद्ध बन्न पुगेको थियो तर पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो ।

त्यसपछि टरिगाउँ विमान स्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो । विमान कालोपत्रे भएपछि तारा एयरले पहिलो पटक दाङ र रुुकममा एकै दिन परिक्षण उडान भरेको थियो । त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ एयरपोर्टबाट गोमा एयरले विमान सेवा सुरु गरेको थियो तर त्यो एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्न पुगेको थियो ।

त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । २०७५ सालदेखि भने नियमित रुपमा हवाई सञ्चालन भईरहेको छ । उक्त एयरपोर्टमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छन । साढे ८ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमान स्थलको धावन मार्गको लम्बाई ७ सय ५० मिटरको छ भने चौडाई ३० मिटरको मात्रै छ ।

ठूला खाले विमानहरु अवतरणको लागि कम्तिमा पनि धावनमार्गको लम्बाई १ हजार २ सय मिटरदेखि माथि १ हजार ५ सय मिटर सम्मको र चौडाई ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । हाल एयरपोर्टमा नेपाल एयरलाईन्स र सीता एयरलाईन्सका जहाजले उडान भरिरहेका छन् ।

हाल शुक्रबार बाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ । शनिबार भने सीता र नेपाल एयरलाईन्सका दुईवटै जहाजले उडान भर्ने गरेका छन् । हाल नेपाल एयरलाईन्सले मंगलबार,विहीबार, शुक्रबार र शनिबार सेवा दिने गरेको छ, भने सीता एयरले सोमबार, बुधबार र शनिबार सेवा दिने गरेको छ । आईबार बाहेक हप्तामा ६ दिन उडान भइरहेको छ ।