तराई मधेशका जिल्लामा हात्तीपाइले रोगको जोखिम धेरै

काठमाडौं, ११ फागुन ।
तराई मधेशका जिल्लामा हात्तीपाइले रोगको जोखिम धेरै रहेको विज्ञले बताएका छन् । भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा हात्तीपाइले रोगका बिरामी भएकाले तराई मधेशका जिल्ला उच्च जोखिममा रहेको विज्ञको भनाई छ ।

जोखिममा रहेका तराई मधेशसहितका १५ जिल्लामा सरकारले ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ ।

सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ । यस अघि चलाइएको औषधि खुवाउने अभियान ४८ जिल्लामा प्रभावकारी भएको र ती जिल्लामा जोखिम नरहेको महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताउ ।

उनका अनुसार हिमाली ८ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालिकोट, मुगुमा हात्तिपाइले विरुद्धको औषधि खुवाउन अभियान सञ्चालन गर्न आवश्यक भए नभएको बारे अनुसन्धान हुँदैछ ।

विगतका वर्षमा हिमाली जिल्लामा हात्तीपाइले रोग नदेखिए पनि अहिले बिरामी भेटिन थालेकाले अनुसन्धान थालेको डाक्टर दासले जानकारी दिए ।

उनका अनुसार यी जिल्लामा हात्तीपाइलेको परजीवि भेटिए अभियान सुरु गरिनेछ । लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासको सुझाव छ ।


भोलिदेखि अभियान सुरु हुने १५ जिल्लामा यस अघि १४ औँ पटकसम्म औषधि खुवाए पनि प्रभावकारी नदेखिएकाले फेरि अभियान चलाउन थालेको उनको भनाई छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि वर्षमा एक पटक लगातार ६ वर्षसम्म खानुपर्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा समस्या भएको हो । यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिने भ्रम छ ।

डाक्टरले केही व्यक्तिलाई ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान सुझाव दिएका छन् ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने महाशाखाले जनाएको छ ।

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ ।

यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र खुट्टा र अण्डकोष सुन्निने जस्ता लक्षण देखिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार धेरैजसो संक्रमण लक्षण बिनाको हुन्छ । यसबाट समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना हुन्छ ।