आज टरिगाउँमा सीता एयरको जहाज नआउने

दाङ,२५ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँ स्थित बिमानस्थलमा आज सीता एयरले उडान नभर्ने भएको छ । आजदेखि सीता एयरले टरिगाउँ एयरपोर्टमा नियमित उडान भर्ने तयारी गरेको थियो । तर, विभिन्न कारण देखाउँदै जहाज नआउने भएको स्रोतले बताएको छ । केही दिन अघि सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा परीक्षण उडान गरेको थियो ।

हाल एयरपोर्टमा नेपाल एयरलाईन्सले हप्तामा ४ दिन उडान भर्ने गरेको छ । हवाई सेवा नियमित नहुँदा यात्रुहरुहरुले पटक–पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसंग सहकार्य अघि बढाईएको थियो । सीता एयरको हवाई सेवा सुरुवात गर्नकालागि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, निवर्तमान अध्यक्ष विमल रिजाललगायतको टोली नियमित सक्रिय भएर लागेको छ ।

एयरले भाडा ९ हजार भन्दै आएको थियो ।तर, यसलाई घटाएर ७ हजार ५ सयसम्म बनाउनालागि पहल भएको थियो । राष्ट्रियसभा सदस्य शर्मा पटक–पटक सीता एयरका प्रबन्धक घनश्याम राज आचार्यसंग छलफल गरेका छन् । शर्माकै पहलमा टरिगाउँमा सीता एयरले परीक्षण उडान भरेको थियो ।


हाल टरिगाउँमा नेपाल एयरलाईन्सको १९ सिटे टुईनेटरले आइबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने गरेको छ । उक्त जहाजमा हाल दाङदेखि काठमाडौंको न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार १० रहेको छ ।

हाल रहेको ७५० मिटर लम्बाई र ३० मिटर चौडाई रहेको धावनमार्ग पनि विस्तारकालागि पहल भइरहेको छ । उक्त विमानस्थलमा केही समय अघि समिट एयरले पनि उडान भर्ने गरेको थियो ।