कालिमाटी गाउँपालिकावासीले स्वास्थ्य, पशु, कृषि, शिक्षा र पर्यटनको विषयमा चासो

सल्यान, २४ माघ ।
कालिमाटी गाउँपालिका सल्यानका नागरिकहरुले स्वास्थ्य, पशु, कृषि, शिक्षा क्षेत्र र गाउँपालिकाको सेवा प्रवाहको विषयमा चासो राखेका छन् । करिव साढे ४ घण्टासम्म चलेको गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि सेवाग्राहीले गाउँपालिकाको सेवा प्रवाह र स्वास्थ्य, पशु, कृषि, शिक्षा, पर्यटन क्षेत्रसंग सम्बन्धीत रहेर प्रश्न, जिज्ञासा एवम् आवश्यक सुझाव प्रदान गरेका थिए ।

वडा नम्बर ३ को कार्यालयमा आयोजना गरिएको पालिका स्तरिय सार्वजनिक सुनुवाईमा गाउँपालिकावासीले विकास निर्माणको काममा कुनै पनि पूर्वाग्रह नराखी पारदर्शी र गुणस्तरिय काम गर्न आग्रह गरेका थिए ।

गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० को हाल सम्म सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

१५ शैयाको अस्पताल निर्माणमा ढिलासुस्ती भएको, गाउँपालिका कार्यालयमा सेवाग्राहीको लागि हेल्प डेस्कको प्रभावकारी व्यवस्था नभएको लगाएतका गुनासो सहभागिले गरेका थिए भने कृषि तथा पशु सम्बन्धी सेवा वडास्तरमै प्रभावकारी हुनुपर्ने, पर्यटन क्षेत्रको विकासमा लगानी गर्नुपर्ने, विपन्नलाई खरको छाना विस्थापित कार्यक्रमलाई विशेष ध्यान पुर्याउनुपर्ने सुझाव राखेका थिए ।

लागू औषध दुव्र्यशनी र वाल विवाह न्युनिकरणका कार्यक्रमलाई निरन्तर अगाडी बढाउनुपर्ने, गाउँपालिकालाई प्रत्यक्ष प्रभाव पार्ने सडक, विद्युत लगाएतका योजना समयमै कार्यान्वयनका लागि गाउँपालिकाले सम्बन्धीत निकायमा पहल गर्नुपर्ने सुझाव पनि उपस्थित सहभागिले गाउँपालिकालाई दिएका थिए ।


कार्यक्रमका प्रमुख जवाफदेही वक्ताको रुपमा रहेका गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले विकास निर्माण र पालिकाको समृद्धिका लागि सबै राजनितीक दल, नागरिक एवम् सरोकारवालाले हातेमालो गर्नुपर्ने बताएका थिए । उनले सुनुवाई कार्यक्रममा उठेका सबै जिज्ञासा सम्बोधन गर्ने प्रयास गर्दै प्राप्त सुझावलाई ग्रहण गर्दै अगाडी बढ्ने प्रतिवद्धता राखेका थिए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनका लागि ठोस योजना बनाएर सबै शाखा र मातहतका कर्मचारीलाई आवश्यक निर्देशन सहित अघि बढ्ने बताएका थिए ।

कार्यक्रममा गाउँपालिकाका विभिन्न विषयगत शाखाहरुले आआफ्नो शाखाबाट भएको सेवा प्रवाहको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । १४५ बढीको सहभागिता सहित भएको सोमबार भएको कार्यक्रममा सेवाग्राहीले ६० भन्दा बढी जिज्ञासा, प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा सहभागी नेपाली कांग्रेसका प्रतिनिधी टोप बहादुर केसी, एमालेका केशर बुढा मगर, माओवादी केन्द्रका प्रेम बहादुर वली, राप्रपाका प्रदिप थापा, एकिकृत समाजवादीका ओपेन्द्र बहादुर केसी लगाएतले विभिन्न सुझाव प्रदान गरेका थिए ।

गाउँपालिकाको सहयोगमा सामुदायीक विकास केन्द्र नेपाल मार्फत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक दिपेन्द्र कुमार शाहीले सार्वजनिक सुनुवाई कार्यक्रमको आवश्यकता, महत्वको विषयमा प्रकाश पार्दै सहभागिलाई स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले गरेका थिए ।