भरतपुर खानेपानीमा शंकर गौतम निर्बिरोध निर्वाचित

दाङ, २५ पुस ।
भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति घोराही दाङको अध्यक्षमा शंकर गौतम छैठौ कार्यकालका लागि निर्बिरोध निर्वाचित हुनु भएको छ । समितिको २० औं बार्षिक साधारणसभा तथा आठौ अधिवेसनले गौतमलाई निर्बिरोध निर्वाचित गरेको हो । गौतमले २०६४ सालयता भरतपुर खानेपानी समितिको नेतृत्व सम्हाल्नु भएको छ । त्यस अघी गौतम एक कार्यकाल समितिको कोषाध्यक्षमा रहेर काम गर्नु भएको थियो ।

समितिको उपाध्यक्षमा जंगबहादुर जि.सी., सचिवमा एकेन्द्रबहादुर राना, सह—सचिवमा मिनराज लम्साल र कोषाध्यक्षमा डोमाकान्त अधिकारी निर्बिरोध निर्वाचित हुनु भएकोे छ । समितिको महिला सदस्यहरुमा शिवा श्रेष्ठ, गीता पोख्रेल, मुना पोख्रेल, सुनिता आचार्य र गोवादरी श्रेष्ठ र खुला सदस्यमा शान्तराज अधिकारी निर्बिरोध निर्वाचित हुनु भएको छ । खुला सदस्य शान्तराज अधिकारी नयाँ कार्य समिति सदस्यको रुपमा चयन हुनु भएको छ भने अन्य पदाधिकारी र सदस्य पुरानै हुनुहुन्छ । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा करिव १ हजार ३ सय उपभोक्ता रहेका छन ।


शनिवारदेखि शुरु भएको अधिवेसनको निर्धारित कार्यक्रम अनुसार आज दिउँसोसम्म सिमिति पदमा मात्रै उमेदवारी परेको र उमेदवारी परेका मध्ये कसैले पनि उमेदवारी फिर्ता नलिएपछि नयाँ समितिलाई निर्बिरोध निर्वाचित भएको घोषणा गर्दै नवनिर्वाचित समितिलाई सपथ पनि खुवाइएको छ । प्रमुख निर्वाचन अधिकृत निर्मल गौतमले नव निर्वाचित अध्यक्ष शंकर गौतमलाई र अध्यक्ष गौतमले अन्य पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो ।

नवनिर्वाचित कार्यसमितिको आजै बसेको पहिलो बैठकले आफूहरुलाई आम सहमतिमा जिम्वेवारी सुम्पिने उपभोक्ता लगायत सम्वद्ध सवैलाई धन्यवाद दिदै उपभोक्ताको घरघरमा शुद्ध पिउने पानी अझ सहज रुपमा पू¥याउने काम लाग्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।