दाङका यी स्थानमा लाग्छ, माघीमा मेला

दाङ,१५ पुस ।
माघे सक्रान्ती अर्थात माघी पर्वका अवसरमा दाङका धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने गर्छ । घोराही उपमहानगरपालिका –१३ को बाह्रकुने ताल(दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दछ ।

बागर वावामा भारतीय पर्यटक आउने गर्दछन् । लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ ।

थारु समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भाञ्जी मन्दिर, तप्त कुण्ड (तातोपानी पोखरी), घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानि पूजा गर्ने चलन रहेको पूजारी हीरालाल बाबाले जानकारी दिनुभयो । रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो । लमही बजारबाट पच्चीस किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर रहेका छन् ।


यसैगरी घोराही–१३ सेवारमा रहेको बाह्रकुने दहमा माघी मेला नजिकिएसँगै चहलपहल बढेको छ । बराहक्षेत्र संरक्षण सम्बद्र्धन धार्मिक समितिले मेलाको तयारीलाई तीव्रता दिँदै आएको छ । बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले माघी पर्वको अवसरमा लाग्ने मेलाको तयारी गरिरहेको बताउनुभयो ।

त्यसका लागि विभिन्न उपसमिति बनाएर कामको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । अचेल मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुई सय भक्तजन आउने गरेको बुढाले बताउनुभयो । यहाँ भेडाको बलि दिइन्छ भने परेवा उडाइन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला रहने गरेको छ । रासस