लुम्बिनी प्रदेश स्थायी राजधानी : मुख्यमन्त्री कार्यालय तयार हुँदै

दीपक बोहरा,
दाङ,२९ कात्तिक ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा मुख्यमन्त्री कार्यालय सार्नकालागि संरचना तयारी गर्ने कार्य भइरहेको छ । राप्ती गाउँपालिका वडा नं.३ लालमटिया स्थित राप्ती प्राबिधिक शिक्षालयलाई एक महिना अघि सरस्वति माविमा स्तान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयकालागि संरचना मर्मत गर्ने कार्य भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिईओ छविराज पोखरेलले बताए ।

‘शिक्षालयका पहिलेका थुप्रै भवनहरु छन्, तिनै भवनहरुलाई मुख्यमन्त्रालयलगायत अन्य मन्त्रालय राख्नकालागि संरचना तयार गर्ने कार्य भइरहेको छ”,उनले भने“अहिले मुख्यमन्त्रीको कार्यालयसहित मुख्यमन्त्रीको निवास, प्रमुख सचिबको निवाससहित केही मन्त्रालयकालागि संरचना निर्माण गर्ने कार्य भइरहेको छ ।” उनका अनुसार केही दिनदेखि संरचना मर्मत गर्ने कार्य भइरहेको हो ।

त्यस्तै प्रदेशसभा भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका इञ्जिनियर विष्णु केसीका अनुसार भित्रको सबै काम पूरा भइसकेको र बाहिरको केही काम मात्रै बाँकी रहेको छ । त्यो पनि छिट्टै पूरा हुने उनले बताए । १ अर्व २० करोड लगानीमा प्रदेशसभा भवन निर्माण भइरहेको छ । वाइवी स्टोन बिल्ड्रर्स प्रालिले उक्त निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बनेका छन् ।


स्थायी राजधानी तोकिएपनि अहिलेसम्म भालुवाङबाट कामकाज हुन सकेको छैन । ग्रामिण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा सरेपनि काम भने बुटवलबाट हुँदै आएको छ । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आबश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भइ काम गर्दै आएको छ । त्यस्तै प्रदेश पूर्वाधार प्राधिकरण अन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ ।

२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकावडा नं. १,२ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । जतिबेला एक बर्ष भित्र स्थायी मुकामबाट काम सुरु भनिएको थियो । तर, त्यसो हुन सकेन ।

शिक्षालय १६ विघा क्षेत्रमा फैलिएको थियो
२०५० सालमा स्थापना भएको राप्ती गाउँपालिका वडा नं. ५ स्थित राप्ती प्राबिधिक शिक्षालय १६ विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । “हामीसंग भवन प्रसस्त छन्”,उनले भने“यिनै भवनमा सबै मन्त्रालय चलाउन सकिन्छ, त्यसैले हामीले छिटो कामकाज दाङ सार्नकालागि पहल गरिरहेका छौं ।” अहिले तिनै भवनलाई मर्मत गरेर मन्त्रालय चलाउने गरि तयारी थालिएको छ ।