दाङ क्षेत्र नं.३ मा गठबन्धनको प्रतिबद्धताः मेडिकल कलेज स्थापना

दीपक बोहरा
दाङ, १७ कात्तिक ।
पाँच दलिय संयुक्त गठबन्धन दाङ क्षेत्र नं.३ ले विहीबार साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक गिरी, प्रदेश क्षेत्र १ का उम्मेदवार डिल्ली चौधरी र २ का उम्मेदवार धनबहादुर मास्की(राजेश)ले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्रमा पश्चिम क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने, सबै विद्यालयलाई टिनका छाना मुक्त बनाई पक्की भवन बनाउने, महेन्द्र माविलाई मेघा विद्यालयका रुपमा स्थापना गर्ने, मावि श्रीगाउँ र हंसपुरलाई पनि त्यही अनुसार विकास गर्ने, राप्ती बबई क्याम्पसलाई आधुनिक क्याम्पसका रुपमा विकास गर्ने, सामुदायिक विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्र बनाउने, प्रत्येक गाउँपालिका तथा उपमहानगरपालिकामा एउटा प्राबिधिक शिक्षालय खोल्ने उल्लेख गरिएको छ । त्यस्तै स्व उद्यम गर्न चहाने युवालाई उद्यमको रुपमा अनुदान दिने, बबई लिफ्टिङ गर्ने,कृषि उत्पादन संकलन केन्द्र स्थापना गर्ने, हरेक वडामा कृषि तथा पशु सेवा इकाई स्थापना गर्नुकासाथै पशु हस्पिटल सञ्चालन गर्ने,युवालाई स्वरोजगार बनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै टरिगाउँ एयरपोर्टमा एटीआर–७२ विमानको उडान भर्न सक्ने क्षमताको बनाउने,पर्यटन गाईड, पर्यटन बस, घोडचढी तथा पदयात्रा सेवा विस्तार गर्ने,पर्यटकीय स्थलमा पुग्न साईकल सर्किट घोषणा गर्ने, आकाशे पानीलाई संकलन गर्ने, तुलसीपुर–हापुरे सडकलाई चारलेन बनाउने, गहते–बाघमारे–घट्टेकुला सडकलाई दुईलेन बनाउने,खोलाहरुमा पक्की पुल बनाउने, ठाउँ–ठाउँमा झोलुंगे पुल बनाउने, शहीद,द्वन्दपीडित, बेपत्ता पारिएका परिवार, अपाङ्गता भएका, दलित, विपन्न, मुक्त कमैया,कम्लहरी, मुस्लि विद्यार्थीहरुलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । त्यस अवसरमा कार्यक्रममा प्रमुख अतिथि तथा क्षेत्र नं. ३ का उम्मेदवार दिपक गिरीले मुलुकको मुहार बदल्न बिभिन्न आन्दोलन संगै गरेको भन्दै अब विकास पनि गठबन्धनले संगै गर्ने भएकाले साझा घोषणा पत्र बनाएको बताए । उनले दाङलाई माथी उठाउनकालागि प्रतिबद्धता पत्र तयार गरेको भन्दै त्यही अनुसार काम गर्ने बताए ।


त्यस्तै दाङ क्षेत्र नं.३(२) का उम्मेदवार धनबहादुर मास्कीले पश्चिम दाङको विकासकालागि एकता बद्ध भएर लाग्ने बताए ।‘यस अघि ब्यबस्था बदल्नकालागि हामी एकताबद्ध भएका थियौं, अब अबस्था बदल्नकालागि एक जुट भएका छौं’,उनले भने‘हामी फेरी पनि अबस्था बदल्ने युद्धमा छौं ।’

त्यस्तै क्षेत्र नं.३(१)का उम्मेदवार डिल्लीबहादुर चौधरीले आफूले झुटको खेति नगर्ने र प्रतिबद्धता पत्र अनुसार काम गर्ने बताए । त्यस अवसरमा माओवादी केन्द्रका निर्वाचन आयोग संयोजक कुवेर वली, पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा‘अपार’, काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर राणा, जनमोर्चाका जिल्ला प्रबक्ता भरत भण्डारीलगायतले मनतब्य ब्यक्त गरेका थिए ।