गन्दर्वहरूको आयस्तर बढाउने कार्यक्रम ल्याउने गठबन्धनका उम्मेदवारको प्रतिबद्धता

घोराही, १५ कात्तिक ।
गठबन्धनका उम्मेदवारहरूले पछाडि पारिएका गन्दर्वहरूको आयस्तर बढाउने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले गन्दर्वहरूको जिविका सुधारकालागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित नयाँ बस्तीमा पुगेर उम्मेदवारहरूले गन्दर्वहरूको पहिचान र जीवन सुधारका लागि काम गर्ने बताए ।

प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं. २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले आफूहरूको संघर्षका कारण नै नेपालमा दलित, जनजाति, उत्पीडित वर्ग, समुदायले अधिकार प्राप्त गरेको बताउनुभयो । ‘हामीले संघर्ष गरेर अधिकार ल्यायौं, अब जनताको जिवनस्तर सुधार गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘जनताले प्राप्त गरेको अधिकार रक्षा गर्दै मुलुकको समृद्धि हासिल गर्न गठबन्धन निर्माण भएको हो ।’


प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ ले लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएर पनि शंकर पोख्रेलले दाङको विकासमा कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले अब युवा र केही गर्छु भन्ने भावना भएका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

स्थानीय विमला गन्धर्वले आफूहरूलाई नमुना बस्तीको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पुल निर्माण नहुँदा आफूहरूले दुःख पाएको जानकारी दिनुभयो ।