
तुलसीपुर,६ भदौ ।
दाङको तुलसीपुरबाट प्रकाशित अग्रिम साप्ताहिक पत्रिका दोस्रो बर्षमा प्रवेश गरेको छ । ‘स्वाधीनता, समृद्धि र समाजवादको यात्रा’ नाराकासाथ प्रत्येक सोमबार प्रकाशन हुदै आएको पत्रिका भदौ पहिलो सातादेखि दोस्रो बर्षमा प्रवेश गरेको हो । गएको बर्षको पहिलो सोमबारदेखि प्रकाशन सुरु भएको हो ।
एक बर्षमा पाठक, विज्ञापनदाता, सुभचिन्तक, समाचारदाता, कर्मचारी, पत्रकारलगायतको सहयोग प्राप्त भएकाले पनि यो दोस्रो पाइलामा प्रवेश गर्न सफल भएको पत्रिकाका प्रकाशक दिपक बोहराले बताए । उनले आईतबार एक विज्ञप्ति जारी गर्दै यो सहयोग प्रति आभार तथा धन्यवाद ब्यक्त गरेका छन् ।
दाङमा नयाँ शैलीबाट छापा माध्याम प्रकाशन गरिएको उनको भनाई छ । मुलुक संघीयतामा गएसंगै पत्रकारिताको पनि फरक अभ्यास गर्न सकिने भन्दै पत्रिका प्रकाशन गर्न लागिएको हो । विज्ञान, प्रबिधिको विकासंगै डिजिटल मिडिया अगाडी आएको भएपनि छापा माध्यमका आफ्नै विशेषता रहेको भन्दै उनले छापा माध्यामको भबिष्य पनि उज्ज्वल रहेको बताए ।
पत्रिकाले ‘लाईभदाङ डटकम’लाई अनलाईन संस्करणका रुपमा सञ्चालनमा ल्याएको छ । पत्रिकाको सम्पादकमा अनिता पोख्रेल, प्रवन्ध निर्देशकमा हरिष गिरी तथा सहसम्पादकमा दुर्गा विक रहेका छन् ।


लाइभदाङ । ६ भाद्र २०७९, सोमबार १४:५० बजे