भालुवाङमा प्रदेश स्तरीय बृहत संग्रहालय बन्ने

तुलसीपुर
१ असार / दाङको भालुवाङमा प्रदेश स्तरीय संग्राहलय बन्ने भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९/०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले प्रदेशको स्थायी राजधानीमा प्रदेशको इतिहास, कला, संस्कृति एवम् अन्य मौलिक विशेषता समेटिएको वृहत संग्रहालय स्थापनाको लागि जग्गा प्राप्ती र विस्तृत परियोजना प्रतिवेदन तयारीको कार्यलाई अगाडि बढाउने बताए ।

त्यस्तै दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा प्रदेशको राजधानी राप्ती गाउँपालिकामा ’’सुशील कोइराला स्मृति पार्क’’ निर्माणका लागि गुरुयोजना सहित विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिने भएका छ । त्यसकालागि १ करोड बजेट विनियोजन गरिएको छ ।


त्यस्तै दाङ्गको बाह्रकुनेलगायतका प्रदेशका बिभिन्न पर्यटकीय स्थललाई ऐतिहासिक, धार्मिक र प्राकृतिक बाइसे चौबिसे सर्किटका गन्तव्य स्थलको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ । सीमाक्षेत्र सडक कार्यक्रम अन्तर्गत दाङको गोठुवा सुनपानी सुनछहारी सडकसहित १८ वटा सडकका लागि रू २६ करोड २५ लाख विनियोजन गरिएको छ ।

संघीय सरकारसँगको लागत साझेदारीमा सञ्चालन हुने दाङको वखरिया–सरुवाडाँडा–गोल्टाकुरी–कालितारालगायतका सडकमा ९६ करोड विनियोजन भएको छ ।