ओझेलमा दंगीशरणले राज गरेको‘सुकौरा’: नेताको पहुँचले सुकौराको नाममा चम्कियो ‘चखौरा’

दीपक बोहरा
दाङ,
२१ चैत /  दंगीशरण थारुले राज गरेको ठाउँ हो– तुलसीपर ११ स्थित सुकौरा । तर, त्यो अहिले ओझेलमा छ । त्यहाँ अहिले हेर्न लाईक कुनै पनि संरचना छैनन् । प्रदेश सरकारको २५ लाख लगानीमा सुरु भएको भ्यूटावर निर्माण कार्य अलपत्र छ । भित्र हेर्दा शौचालय जस्तो छ । निर्माण कार्य बीचमै रोकिएको छ । अहिले जति बनेको छ, त्यो २० लाख लागत बराबरको हो ।

२० लाख खर्च भएको जस्तो देखिदैन । भ्यूटावर निर्माण कार्य पूरा भएको छैन । त्यो पूरा गर्न बजेट पर्खिरहेका छन् । त्यो भ्यूटावर निर्माणाधिन अबस्थामा रहेको करिब एक बर्ष भइसक्यो ।‘ २० लाख जति बजेट आएको थियो, त्यसबाटै अहिलेको जस्तो भ्यूटावर बन्यो’, स्थानीय अगुवा मस्तबहादुर चन्दले भने‘अब बाँकी जहिले बजेट आउछ, त्यही दिन निर्माण सुरु हुन्छ ।’ भ्यूटावर मात्रै होईन्, त्यहाँको हरित पार्क पनि अलपत्र छ । नाम हरित पार्क भएपनि त्यही कहिँकतै पनि हरियो देख्न सकिदैन । निर्माण भएको पार्कमा गरिएको तारवार पनि फालिएको छ । पार्कमा कहिलेकाही गाइभैसी चरणको क्षेत्र पनि बन्ने गर्छ । त्यहाँ रोपिएको दुवो मरिसकेको छ । त्यही पार्कमा दंगीशरण राजाको सालिक पनि राखिएको छ । २५ लाख लगातमा त्यहाँ पार्क र दंगीशरण राजाको प्रतिमा निर्माण भएको थियो ।

त्यहाँ राजाले राज गरेको एतिहासिक ठाउँ संरक्षण गर्ने कुने चासो दिईएको छैन । गेट निर्माण छैन । जो पायो त्यही भित्र छिर्न सक्छन् । वरिपार तारवार तथा पर्खाल निर्माण गरिएको भएपनि पश्चिम–उत्तर क्षेत्रबाट पर्खाल भत्किएको छ । पर्खाल निर्माणकालागि भनेर चालु आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकारबाट २५ लाख आएको छ । यस भन्दा अघि बिभिन्न समयमा गरि करिब २५ लाख बजेट आएको छ । अहिलेसम्म दंगीशरणले राज गरेको स्थान सुकौरामा आएको बजेट यत्ति नै हो ।

त्यहाँ अहिले पर्यटकको संख्या पनि शून्य नै छ । एतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर, त्यस्तो हुन नसकेको स्थानीय भिमसेन भण्डारीले बताए ।‘यो ठाउँमा दैनिक धेरै पर्यटक आउनु पर्ने थियो’,उनले भने‘तर, पर्यटकको संख्या शून्य छ ।’

चखौरा भरिदा, सुकौरा सुक्यो
त्यही दंगीशरणको नाम भजाएर अहिले चखौरा भने चम्किएको छ । लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले सञ्चालन गरेको दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरा स्थित थारु संग्राहलयमा दैनिक भीडभाड हुन्छ । संग्राहलयमा अहिले दैनिक एक सयदेखि बढि आउछन् । त्यहाँ दंगीशरण राजाको सालिक पनि राखिएको छ । त्यतिमात्रै होईन्, थारु समुदायका एतिहासिक कुराहरु पनि त्यहाँ राखिएको छ । त्यसले गर्दा थारुका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको तुलसीपुर ११ का वडाध्यक्ष चित्रबहादुर वलीले बताए ।‘ चखौराले यहाँको पर्यटनलाई निकै प्रभाब पारेको छ, त्यहाँ सग्राहलय बनेपछि सुकौरामा कुनै पनि संरचना निर्माणको काम अघि बढेका छैनन्’,उनले भने‘बास्तविक दंगीशरण सुकौरामा हो, तर, नाम दंगीशरण गाउँपालिका पनि उतै भयो, संग्राहलय बनेपछि सबै उतै जान थाले ।’

त्यो संग्राहलय चखौरामा नभएर सुकौरामा बनाउन आबश्यक रहेको समेत उनले बताए । त्यसले गर्दा पनि सुकौराको विकासकालागि बजेट आउन नसकेको उनले बताए ।‘वडाले ठूला–ठूला संरचना बनाउने पैसा पनि पुग्दैन, माथिबाट उल्लेख्य मात्रामा बजेट आउन सकेको छैन’,उनले भने‘पहुँचका हिसाबले बजेट गयो भन्दैमा अन्यथा लिने कुरा भएन, आफ्नो ठाउँको विकास जसले पनि गर्छ ।’

स्थानीय अगुवा मस्तबहादुर चन्दले पनि चखौरामा संग्राहलय बनेको विषयमा आपत्ति जनाए । सुकौरामा बनाउनु पर्ने संग्राहलय चखौरा बनाउँदा निकैसमस्या परेको बताए । सुकौराको विकासकालागि त्यस क्षेत्रका नेताको समेत पहुँच पुग्न नसकेको बताए । चखौरामा अहिलेसम्म करौडौंको बजेट गएको छ । स्रोतका अनुसार डिल्ली चौधरी श्रम तथा रोजगार राज्य मन्त्री हुँदा सुकौराकालागि छुट्याईएको करोडौं बजेत चखौरामा लगिएको छ ।

सबै गरि अहिलेसम्म करिब ६/७ करोड बजेट चखौरा गएको स्रोतले बताएको हो । नाम दंगीशरण राख्ने तर, सुकौरालाई दंगीशरणमा नमिलाउदा पनि सबै बजेट दंगीशरण स्थित चखौरामा गएको त्यहाँका नागरिकको गुनासो छ । दंगीशरण नामकरण गर्दा सुकौरालाई पनि दंगीशरणमै मिसाएको भन्दै त्यहाँको विकासले फड्को मार्ने उनले बताए ।

त्यहाँ थारु राजा दङगीशरण र थारु समुदायले प्रयोग गर्ने सामाग्रीहरु राखिएका छन् । उक्त संग्राहलयमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलबस्तु लगायत पूर्बि नेपालका थारु समुदायहरुले प्रयोग गर्ने सम्पूर्ण बस्तुहरु राखिएको छ । त्यसकालागि डिल्ली चौधरीको आफ्नै आईएनजीओ बेसले सहयोग गरेको थियो । उक्त संग्राहलयको अवलोकनका लागि प्रबेश शूल्क पनि लिने गरिएको छ ।

मन्त्री डिल्लीबहादुर चौधरीले दाङलाई थारु कला संस्कृतिको नमूना जिल्लाको रूपमा चिनाउने र आन्तरिक र बाह्य पर्यटक ल्याउने उद्देश्यले उक्त संग्राहलय निर्माण गरिएको बताए । संग्राहलयमा हालसम्म झन्डै पाँच हजार जति आदिवासी थारु जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणसमेत राखिएको छ ।


धर्तीपुत्र दावी गर्ने थारु समुदायको जीवनीसँग सम्बन्धित विभिन्न कृषि औजार, कला र कलासंस्कृति झल्कने वस्तुहरू राखिएको छ । खानाको परिकार समेत राखिएको छ । त्यहाँ घुँङी, सुँगुर बँगुरको मासु, मुसाको चटनी, माछा, गगटा, चामलको पीठोबाट बनाईने ढीक्रि, अनदीको परिकार, अनदीको झोल ,मदीरा लगायत थारु समूदायको खानाको परिकारहरु समेत पाईन्छ । त्यहाँ खानेकुरामा पनि बाहिर भन्दा निकै महंगो छ ।

सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटदेखि सीधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किम्वदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँदेखि उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे ।

दंगीशरण रानीवनको साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ । उनका अनुसार दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।

हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो ।े मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे ।

राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारु अगुवा रामशरण चौधरीले बताए ।

अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।

पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१, रहरपुरस्थित चुरै पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । १२ ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वक् पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।

बिस १९४२ मा दंगीशरण गाउँपालिका–४, बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने वेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गनरिन । तर, प्रहरी, प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किम्बदन्ती रहेको छ । साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person and text that says 'し अगिम यात्रा www.livedang.com साप्ताहिक WEEKLY DHNGCOM www.livedang.com समाचार सोमबार Agrim Weekly, April Monday 2022) www.livedang.com पृष्ठ६ मुल्य.१ ओभेलमा दंगीशरणले राज गरेको 'सुकौरा' नेताको पहुँचले सुकौराको नाममा चम्कियो 'चखौरा' तुलसीपुर दंगीशरणले चखारा। दंगीशरणले राज गरेको निर्मान गरिएको ग्रीनपार्क संग्राहलय चखौरा अगिम छर्लडग सन्तोष परियार'