
शरद रेग्मी
तुलसीपुर, ११ भदौ ।
तुलसीपुर उद्योग वाणिज्य संघले बाढीपीडितका लागि १ लाख १ हजार ११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघका कार्यवाहक अध्यक्ष नरेशकुमार राजभण्डारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको महासचिव केशवराज केसीले जानकारी दिनुभयो।
बैठकमा संघअन्तर्गत रहेका विभिन्न २१ वटा उपसमितिका संयोजक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा संघका पूर्व अध्यक्ष विमल रिजालले शोकको यस घडीमा मानवीय कार्यमा जुट्न सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गर्नुभयो।
पूर्व अध्यक्ष रिजालले एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप तुलसीपुर उद्योग बाणिज्य संघको उद्धार कोषमा स्वेच्छिक सहयोग गर्दै उद्धार तथा राहत अभियानमा हातेमालो गर्न आम व्यवसायीलाई विशेष आग्रह गर्नुभयो। बैठकमा उपस्थित व्यवसायीहरूले बाढी प्रभावित क्षेत्रका दृश्यहरूले आफूहरूलाई अत्यन्त चिन्तित र दुःखी बनाएको उल्लेख गर्दै पीडितहरूको सहयोगमा सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैगरी, संघका उपाध्यक्ष देवबहादुर केसीले पनि मानवीय कार्यमा सक्रिय हुन सबैलाई अपिल गर्नुभयो। उहाँले विपद्मा परेका नेपालीहरूका लागि देश–विदेशबाट सहयोगी हातहरू अघि बढिरहेको सन्दर्भमा दाङबाट पनि सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति तुलसीपुर उद्योग बाणिज्य संघले दुःख व्यक्त गरेको छ ।



लाइभदाङ । ११ भाद्र २०८३, बिहीबार १९:५५ बजे