
दाङ, २६ कात्तिक । संघीय सरकारले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको चीन भ्रमणमालाई अनुमती प्रदान गरेको छ ।
आइतबार बसेको संघीय सरकार मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्दै अनुमती प्रदान गरेको हो । यस अघि कार्तिक २० गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुले विदेश यात्रा गर्दा संघीय सरकारको अनुमती लिनुपर्ने प्राब्धान रहेको छ । सोही आधारमा प्रदेश सरकारका मुख्यमन्त्रीको चीन भ्रमणलाई संघीय सरकारले अनुमती प्रदान गरेको हो ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल आज चीन जान लागेको हो । बेलुका ५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल मार्फत चीनकालागि प्रस्थान गर्ने तयारी रहेको भ्रमणदलमा सहभागि मुख्यमन्त्रीका स्वीकृय सचिव कुशल भुसालले जानकारी दिनु भएको छ ।
सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा जान लाग्नु भएको छ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ । वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो।
तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गर्नु भएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।



लाइभदाङ । २६ कार्तिक २०८१, सोमबार ०८:५२ बजे