बाँके–दाङ हुलाकी सडक निर्माणका लागि करिब चार अर्बको ठेक्का आह्वान

नेपालगञ्ज, २ साउन ।
लामो समयदेखि अधुरो रहेको बाँके–दाङ हुलाकी सडक निर्माणले अब गति लिने भएको छ। सरकारले सडक तथा पुल निर्माणका लागि करिब तीन अर्ब ७० करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरेसँगै आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढेको हो।

हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय, नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुरदेखि बाँके–दाङ सीमास्थित हाटबाससम्मको करिब ३६ किलोमिटर सडक स्तरोन्नति तथा चार वटा ठूला पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ। यसका लागि २१ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ भने आगामी भदौ मसान्तसम्म ठेक्का सम्झौता गर्ने लक्ष्य राखिएको छ।

कार्यालयका अनुसार सडक निर्माणका लागि करिब तीन अर्ब २० करोड रुपैयाँ र चार वटा ठूला पुल निर्माणका लागि ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजना सम्पन्न गर्न तीन वर्षको समयसीमा तय गरिएको छ।

यसैबीच, बाँके–दाङ सीमास्थित हाटबासदेखि दाङको राजपुर गाउँपालिका–स्थित गङ्गदीसम्मको थप २२ किलोमिटर सडक निर्माणका लागि पनि अर्को चरणमा ठेक्का आह्वान गर्ने तयारी भइरहेको प्रमुख भण्डारीले जानकारी दिए।


हाल नेपालगञ्ज हुँदै राप्ती सोनारी–३ नारायणपुरदेखि दाङको राजपुर गाउँपालिकाको गङ्गदीसम्म हुलाकी सडकको अधिकांश खण्ड निर्माण भइसके पनि करिब ५८ किलोमिटर सडक अझै अधुरो रहेको छ। नयाँ ठेक्का प्रक्रियासँगै बाँकी सडक निर्माणले पनि गति लिने अपेक्षा गरिएको छ।

ठेक्का आह्वान भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले सडक निर्माण सम्पन्न भएपछि कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन, बिरामीको सहज आवतजावत गराउन तथा स्थानीयको दैनिक जीवन सहज बनाउन ठूलो योगदान पुग्ने बताए।

त्यस्तै, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर–१ का सभापति पोषण केसीले सडक निर्माणले राप्ती सोनारी–१ र ३ का सयौँ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे। स्थानीय दीपक थापाले पनि लामो समयको प्रयासपछि ठेक्का प्रक्रिया सुरु भएकाले अब सडक निर्माणले मूर्त रूप लिने र आवागमनमा उल्लेखनीय सुधार आउने अपेक्षा व्यक्त गरे।

महेन्द्र राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गतको यो सडक बजेट अभाव, राजनीतिक अस्थिरता तथा वन क्षेत्रसम्बन्धी विवादका कारण वर्षौंदेखि अधुरो रहँदै आएको थियो। ठेक्का प्रक्रिया अघि बढेसँगै अब निर्माण कार्यले गति लिने र बाँके तथा दाङका नागरिकले सहज यातायात सुविधा पाउने अपेक्षा गरिएको छ।