
आलोक भावुक
गढवा, २९ जेठ।
गढवा गाउँपालिका वडा नम्बर ६ स्थित बाल संसार एकाडेमीका विद्यार्थीहरूले आज गढवा गाउँपालिकाको प्रशासनिक कार्यालयमा पुगेर गाउँपालिकाको सेवा प्रवाह, प्रशासनिक संरचना तथा स्थानीय सरकारको कार्यप्रणालीबारे अध्ययन अवलोकन गरेका छन्।
अध्ययन अवलोकनका क्रममा विद्यार्थीहरूलाई गाउँपालिकाले प्रदान गर्ने विभिन्न सेवाहरू, योजना निर्माण प्रक्रिया, जनप्रतिनिधिको भूमिका तथा स्थानीय तहको दैनिक कामकारबाहीका विषयमा जानकारी गराइएको थियो। विद्यार्थीहरूले जिज्ञासा राख्दै स्थानीय सरकार सञ्चालनका विविध पक्षबारे प्रत्यक्ष अनुभव समेत प्राप्त गरेका थिए। यस अवसरमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यार्थीहरूलाई स्वागत गर्दै शिक्षा र व्यवहारिक ज्ञानलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयमा पढाइने विषयवस्तुसँगै स्थानीय सरकार, प्रशासन र सामाजिक उत्तरदायित्वबारे जानकारी लिन यस्ता अध्ययन अवलोकन कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो।
अध्यक्ष पोख्रेलले भन्नुभयो, “आजका विद्यार्थी नै भोलिका सक्षम नागरिक र नेतृत्व हुन्। किताबमा सीमित नभई व्यवहारिक ज्ञान हासिल गर्न सके भविष्यमा समाज र राष्ट्र निर्माणमा अझ प्रभावकारी भूमिका खेल्न सकिन्छ। स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसको काम, जिम्मेवारी र सेवाबारे विद्यार्थीले अहिलेदेखि बुझ्नु आवश्यक छ।” उहाँले विद्यार्थीहरूलाई अनुशासन, सकारात्मक सोच र निरन्तर सिकाइतर्फ प्रेरित गर्दै आफूले देखेका र सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
विद्यालयका शिक्षकहरूले पनि यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, जिज्ञासा र नागरिक चेतना विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।



लाइभदाङ । २९ जेष्ठ २०८३, शुक्रबार २१:२२ बजे