
घोराही, १७ बैशाख ।
दाङको घोराही उपमहानगरपालिका–१७ रामपुर चोक नजिक मोटरसाइकलको ठक्करबाट एक अज्ञात वृद्ध पुरुषको मृत्यु भएको छ। दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ साल बैशाख १६ गते राति करिब १० बजे नम्बर नखुलेको मोटरसाइकलले अन्दाजी ६०–६५ वर्षका एक पुरुषलाई ठक्कर दिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौघेरा र जिल्ला प्रहरी कार्यालय दाङबाट टोली खटिएको थियो। गम्भीर घाइते अवस्थामा रहेका ती पुरुषलाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो।
अस्पतालमा उपचार भइरहेको क्रममा सोही राति ११:५८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको र आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ।
दुर्घटनापछि मोटरसाइकल र चालक फरार रहेका थिए। प्रहरीले खोजतलास तीव्र पारेपछि बैशाख १७ गते दिउँसो करिब ३:३० बजे चालकलाई नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ पर्नेमा दाङ जिल्लाको बंगलाचुली गाउँपालिका–३ मुलाबारी निवासी ३० वर्षीय प्रेमलाल नेपाली रहेका छन्।
प्रहरीले घटनामा संलग्न मोटरसाइकलसमेत फेला पारेको जनाएको छ। हाल पक्राउ परेका चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
यसैबीच, स्थानीय बासिन्दाले उक्त क्षेत्रमा रातिको समयमा सवारी साधन तीव्र गतिमा गुड्ने गरेको गुनासो गर्दै सडक सुरक्षामा थप ध्यान दिन माग गरेका छन्। प्रहरीले पनि सवारी चालकलाई गति नियन्त्रणमा राख्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।



लाइभदाङ । १७ बैशाख २०८३, बिहीबार २३:०८ बजे