विद्यार्थीको सिकलसेल परीक्षण

तुलसीपुर(दाङ),२१ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ भित्रका विदार्थीहरुको सिकलसेल एनिमिया तथा थालेसिमिया जाँच गरिएको छ । तुलसीपुर १२ थारु समुदायको बाहुल्यता भएको वडा भएकाले सोही वडाका सबै विद्यार्थीहरुलाई उक्त जाँच गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन महाशाखा, तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को कार्यालय र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो । थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया र थालेसिमियाको अबस्था बढ्दै गएकाले विद्यार्थीहरुको स्क्रीनिङ गरिएको हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन शर्माले बताउनुभयो ।

स्क्रीनिङ गरेर रोग देखिएमा थप सल्लाह दिने खालका कार्यक्रम सञ्चालन गरिनेछ । शिविरबाट ४ सय ३९ जनाको रगत संकलन गरिएको छ । रगत लिएको केही दिन पछि मात्रै रिपोर्ट आउनेछ ।


खासगरि सिकलसेल एनिमिया र थालेसिमिया रोग थारु समुदायमा बंशानुगत रुपमा लाग्ने गर्छ । यो रोगको औषधी सरकारले निःशुल्क गरेको छ । तर, अहिले पनि सबै थारु समुदायको स्क्रीनिङ नहुँदा यो रोग लाग्नेको संख्या कति छ भनेर एकीन हुन नसकेको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।