लमही अस्पतालबारे फैलिएका भ्रामक सूचनामा विश्वास नगर्न आग्रह

प्रिया स्मृती गजमेर
देउखुरी,२२ वैशाख ।
लमही अस्पताल व्यवस्थापन समितिका सदस्य अजय न्यौपानेले लमही अस्पतालबारे सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक सूचनामा विश्वास नगर्न सबै सेवाग्राही तथा नगरबासीलाई आग्रह गर्नुभएको छ । आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै सदस्य न्यौपानेले सामाजिक सञ्जालमा अस्पतालको विषयमा आएका धेरैजसो टिप्पणी तथ्यहीन रहेको बताउँदै यस्ता भ्रमपूर्ण सूचनाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले सेवा प्रवाहका क्रममा स–साना त्रुटि हुन सक्ने स्वीकार गर्दै त्यस्ता कमजोरीलाई अस्पताल प्रशासनले सुधार गर्दै जाने बताउनुभयो । “अस्पताल जस्तो पवित्र संस्थालाई अनावश्यक रूपमा राजनीतिक रंग दिएर केही अराजक तत्वले बदनाम गर्न खोजिरहेका छन्,” उहाँले भन्नुभयो, “हामी सेवाको गुणस्तर सुधार गर्न निरन्तर लागिरहेका छौँ ।”

उहाँका अनुसार हाल लमही अस्पतालमा चार जना चिकित्सक कार्यरत छन् । अस्पतालले आफ्नो उपलब्ध जनशक्ति, स्रोतसाधन र पूर्वाधारको आधारमा सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै नगरस्तरको अस्पतालबाट जिल्ला वा प्रदेशस्तरको सम्पूर्ण सेवा अपेक्षा गर्नु व्यवहारिक नहुने उहाँको भनाइ छ । लामो समयसम्म प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सेवा दिँदै आएको लमही अस्पताल हाल १५ शैयाको अस्पतालका रूपमा सञ्चालनमा रहेको छ । अस्पतालबाट दैनिक रूपमा ओपीडी सेवा, आकस्मिक सेवा, प्रसुति सेवा, ल्याब सेवा, खोप सेवा लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान हुँदै आएका छन् ।


अस्पताल प्रशासनका अनुसार सीमित स्रोत र साधनका बाबजुद सेवाग्राहीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयास भइरहेको छ । पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढ्दै गएको र सेवा विस्तारका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ । लमही अस्पतालले सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना भन्दा आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न आग्रह गर्दै सेवासम्बन्धी गुनासो तथा सुझाव भए गुनासो पुस्तिका राखिएको छ वा अस्पताल प्रशासनलाई प्रत्यक्ष जानकारी गराउन अनुरोध गरेको छ ।
स्थानीयवासीले पनि अस्पतालको सेवा सुधारका लागि रचनात्मक सुझाव दिनुपर्ने भन्दै अस्पताललाई अनावश्यक विवादमा तान्नु भन्दा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइएको छ ।