
आलोक भावुक
गढवा, १४ वैशाख ।
दाङ देउखुरीको गढवा गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका विषयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढवाको आयोजना तथा गाउँपालिकाको समन्वयमा सोमबार आयोजित कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समय शिक्षा क्षेत्रमा दरबन्दी मिलान र विषयगत शिक्षक व्यवस्थापनमा सुधार भएको बताउँदै त्यसको सकारात्मक प्रभाव विद्यालयको नतिजामा देखिन थालेको उल्लेख गर्नुभयो। “अधिकांश विद्यालयमा नयाँ प्रधानाध्यापक पठाएपछि शैक्षिक वातावरण सुधारतर्फ उन्मुख भएको छ,” उहांले भन्नु भयो, “अबको शिक्षा सूचना प्रविधिसँग जोडिएको, समयसापेक्ष र व्यवहारमुखी हुनुपर्छ।”अध्यक्ष पोख्रेलले शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै निवृत्त शिक्षक समाजसँग सहकार्य गरेर शिक्षा सुधार अभियानलाई अघि बढाइने बताउनुभयो। अन्तरक्रिया कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा नेपाल निवृत शिक्षक समाज दाङका अध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालय अनुगमन समितिका हरि पोख्रेल, तेनोहवा सामुदायिक विद्यालय रुपन्देहीका प्रधानाध्यापक मोहम्मद इलीयास खाँ, नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय प्रतिनिधि जगतराम यादव, जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश कुमाल लगायतले शैक्षिक गुणस्तर सुधारका लागि विचार राख्नु भएको थियो। त्यसैगरी माध्यमिक तथा आधारभूत तहका विद्यालयका प्रतिनिधिहरू सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुरु बचन चौधरी, शिक्षक गोविन्द बहादुर केसी, माधीका शर्मा र सोभा राम यादवले पनि शिक्षा सुधारका विविध पक्षबारे धारणा व्यक्त गर्नु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक, स्थानीय सरकार र समुदायबीच समन्वय अपरिहार्य रहेको औँल्याउँदै निवृत्त शिक्षकहरूको अनुभवलाई शिक्षा क्षेत्रमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका दिनु भएको थियो।
नेपाल निवृत्त शिक्षक समाज गढवाका कोषाध्यक्ष टंकबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन शिक्षक समाज गढवाका सचिव खगेश्वर शर्माले गर्नुभएको थियो।



लाइभदाङ । १४ बैशाख २०८३, सोमबार २०:१२ बजे