
दाङ,३ बैशाख।
स्थानीय तहहरुले छुट्याउने दलित लक्षित बजेटलाई उपलब्धीमुलक बनाउनुपर्ने माग गरिएको छ । दलित महिला सङ्घ दाङको आयोजनामा जनप्रतिनिधि र सञ्चारकर्मीहरूबीच भएको अन्तरक्रियामा बक्ताहरुले यस्तो बताएका हुन् । आर्थिक रुपमा कमजोर भएका दलित समुदायको आयआर्जन बृद्धि गर्न तर्फ बजेट उन्मुख हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा सङ्घका अध्यक्ष युवा कराराले लुम्बिनी प्रदेशमा दलित अधिकार ऐन निर्माणको चरणमा रहेको बताईन् । ति मध्ये केही पालिकाहरूले आफ्नै ऐन समेत बनाइसकेको जानकारी दिइन् ।
उनले दलित लक्षित बजेट बिनियोजन गर्न तर्फ स्थानीय सरकारले आनाकानी गरेको समेत उनको भनाई थियो ।
अभियान्ता खेमराज विश्वकर्माले स्थानीय सरकारले दलित शसक्तिकरणकालागि उल्लेख्य रुपमा बजेट बिनियोजन नगरेको बताए । विनियोजित बजेट पनि खर्च गर्न तर्फ ध्यान नदिएको उनको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकामा समेत गत वर्षको तुलनामा यस वर्ष दलित उत्थानको बजेट घटेको समेत बताए ।
सोमबार तुलसीपुरमा भएको कार्यक्रममा दलित समुदायको हकहितका लागि नीतिगत र आर्थिक दुवै पक्षबाट सुधार हुनुपर्ने जोड दिइएको छ । कार्यक्रमको सहजीकरण सङ्घका सचिव गङ्गा विश्वकर्माले सहजीकरण गरेकी थिइन । कार्यक्रममा तुलसीपुर क्षेत्रमा क्रियाशिल पत्रकार र दलित महिला जनप्रतिनिधिको सहभागीता रहेको थियो ।



लाइभदाङ । ३ बैशाख २०८३, बिहीबार ०६:०५ बजे