
प्रिया स्मृती गजमेर
देउखुरी,१९ चैत।
लमही नगरपालिका ले “लमही नगर निर्माण, महाअभियान” अन्तर्गत सिकलसेल एनिमिया तथा मृगौलाका बिरामीलाई डायलाइसिस गर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार आयोजित ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोगराज चौधरीले उक्त निर्णय सार्वजनिक गर्नुभएको हो । हिज चैत १९ गतेदेखि लागु भएको लमही नगरपालिकाले जनाएको छ । यो निशुल्क सेवा प्राप्त गर्नेमा लमही नगरपालिका (७ हसनापुर निवासी ३७ वर्षीय मृगौलाका बिरामी रवीन्द्र कुमार रोका हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आर्थिक अभावका कारण धेरै बिरामीले आवश्यक रगत किन्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै स्थानीय सरकार जनताको आधारभूत आवश्यकताप्रति संवेदनशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “हामीले नजिकबाट हेर्दा के देख्यौँ भने धेरै बिरामीको आर्थिक अवस्था निकै कमजोर छ । डायलाइसिस जस्तो दीर्घकालीन उपचारमा रहेका बिरामीलाई पटकपटक रगत आवश्यक पर्छ, तर उनीहरूलाई त्यो व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसैले नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरेर अब यस्तो अवस्थाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेका हौँ । यसले बिरामी र उनका परिवारलाई ठूलो राहत पुग्ने हाम्रो विश्वास छ ।”
उपप्रमुख लक्ष्मी योगीले यो निर्णयले नगरवासीलाई देशभरबाट सेवा लिन सहज बनाएको बताउनुभयो । “लमही नगरपालिकाका स्थायी बासिन्दाले अब नेपालका जुनसुकै रक्त सञ्चार सेवा केन्द्रबाट आवश्यक रगत सेवा लिन सक्नेछन्,” उहाँले स्पष्ट पार्नुभयो, “यसअघि रगत लिन जाँदा करिब एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता थियो, जसले धेरै बिरामीलाई थप आर्थिक भार पारिरहेको थियो । अब त्यो बाध्यता पूर्ण रूपमा हटाइएको छ । स्थानीय सरकारले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो जसले स्वास्थ्य सेवामा पहुँच अझ सहज बनाउनेछ ।”
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कार्यान्वयन पक्षबारे विस्तृत जानकारी दिनुभयो । “मृगौलामा समस्या भई नियमित डायलाइसिस गराउनुपर्ने अवस्थाका लमही नगरबासी बिरामीहरूले देशका जुनसुकै रक्त सञ्चार सेवा केन्द्रबाट रगत लिएका भए पनि त्यहाँबाट प्राप्त बिल तथा भरपाईका आधारमा लमही नगरपालिकाले सो खर्च भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो, “यसका लागि आवश्यक प्रक्रिया र समन्वयको व्यवस्था मिलाइएको छ ताकि बिरामीले सेवा लिन कुनै झन्झट भोग्न नपरोस् ।”
उहाँका अनुसार यो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिकाले स्वास्थ्य संस्था तथा रक्त सञ्चार सेवा केन्द्रहरूसँग सहकार्य गर्नेछ । “हाम्रो उद्देश्य केवल घोषणा गर्नु मात्र होइन, वास्तविक रूपमा सेवा प्रवाह सुनिश्चित गर्नु हो,” डाँगीले जोड दिनुभयो, “यस योजनाले दीर्घकालीन रूपमा बिरामीको जीवनस्तर सुधार गर्न मद्दत पुर्याउनेछ ।”
कार्यक्रममा सहकारीकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममार्फत संकलित रगतले पनि आपतकालीन अवस्थामा रहेका बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । हिज भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहकारी शाखाकी ललिता कुमारी कडायतले कार्यक्रम संचालन गर्नु भएको थियो ।



लाइभदाङ । १९ चैत्र २०८२, बिहीबार १७:५७ बजे