संजीवनी अस्पतालमा ‘हिलिएम फ्री एमआरआई’

दाङ, १२ चैत । दाङको घोराही उप–महानगरपालिका वडा नं. ३ वर्गदुवा स्थित ंजीवनी टिचिङ अस्पतालले ‘हिलियम फ्रि एमआरआई’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका रेडियोलोजी विभाग प्रमुख तथा कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. जेशन केसीका अनुसार जर्मनीमा बनेको १.५ टेस्ला क्षमताको एमआरआइ मेसिनबाट सेवा सुरु गरिएको हो ।

परम्परागत मेसिनहरूबाट अत्यधिक हिलियम ग्यास प्रयोग हुने हुँदा सञ्चालन लागत बढाउने र मर्मतसम्भार जटिल बनाउने गर्दछ। तर,यस मेसिनबाट त्यो समस्या न्यून हुने उनको भनाई छ । उनका अनुसार यो मेसिन वातावरणमैत्री रहेको छ । त्यस्तै मेसिनमा ‘डिप रिजोल्भ’ नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधि समेत प्रयोग गरिएको छ। जसले स्क्यान प्रक्रियालाई छिटो र सहज बनाउनुकासाथै छोटो समयमा उच्च गुणस्तरको इमेज प्राप्त गर्न सकिन्छ । यसले गर्दा चकित्सकलाई रोग पहिचान गर्न सहज हुन्छ ।

मुटुसम्बन्धी एमआरआइ परीक्षणका क्रममा प्रयोग हुने अटोमेटेड पोजिसनिङ प्रणालीले बिरामीलाई सहजता प्रदान गर्नुका साथै स्क्यानको गुणस्तर उच्च बनाउने अस्पतालले जनाएको छ। यसले म्यानुअल त्रुटी घटाउँदै परीक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउँछ। मुटु, मस्तिष्क, मेरुदण्ड लगायतका संवेदनशील अंगहरूको परीक्षणमा यस प्रविधि अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ।


एमआरआई सेवाकै लागि यस अघि काठमाडौं, नेपालगञ्ज वा भारतका विभिन्न सहरसम्म जानुपथ्र्यो । तर, अब त्यो बाध्यता हट्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले बताए ।
उनले यस्तो खालको एमआईआई मेसिन नेपालमा विरलै पाइने गरेको समेत बताए । यससँगै अस्पतालमा सिमेन्सकै १९२ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन पनि सञ्चालनमा रहेको छ। उक्त मेसिनमा ‘टिन फिल्टर’ प्रविधि प्रयोग गरिएको छ । जसले अनावश्यक रेडियसनलाई फिल्टर गर्दै आवश्यक मात्रामा मात्र विकिरण प्रयोग गर्छ। यसले बिरामीमा रेडियसनको जोखिम कम गर्दै उच्च गुणस्तरको इमेज निकाल्न मद्दत गर्दछ ।

साथै, एआइ प्रविधिको सहायताले कम रेडियसनमा पनि स्पष्ट र विस्तृत इमेज उत्पादन गर्न सकिने सुविधा रहेको छ। संजीवनी टिचिङ अस्पतालको रेडियोलोजी विभागमा हाल डिजिटल एक्स–रे, भिडियो एक्स–रे, मेमोग्राफी, सिटी स्क्यान र एमआरआइ जस्ता सम्पूर्ण अत्याधुनिक सेवाहरू सञ्चालनमा छन् । यी सेवाहरू एकै स्थानमा उपलब्ध हुँदा बिरामीले अन्य शहर वा देशसम्म धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।