
दाङ, ३ चैत ।
दाङको राप्ती गाउँपालिकाले सञ्चालनमा ल्याएको राप्ती आधारभूत अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक सहयोग गर्ने भएको छ । त्यसकालागि मंगलबार प्रारम्भीक छलफल भएको छ । हाल एक जना मात्रै कन्सलटेन्ट डाक्टर हुनुहुन्छ । दैनिक डेढसयको हाराहारीमा विरामी आउने भएकाले चिकित्सकहरु आबश्यक रहेको भन्दै प्रतिष्ठानसंग सम्झौता गर्ने तयारी गरेको अस्पताल विकास समितिका अध्यक्ष तथा पालिकाका अध्यक्ष प्रकाश विष्टले बता । त्यसकालागि प्रतिष्ठान पनि सकारात्मक रहेको छ ।
प्रतिष्ठानका निमित्त उपकुलपति श्याम लम्साल, डा. जनार्दन पन्थी, राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट, राप्ती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शुसिल केसी, राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतसहितको मंगलबार प्रारम्भीक छलफल भएको हो । अब केही समयमा सम्झौता गर्ने गरि तयारी रहेको समेत अध्यक्ष विष्टले बताए ।
उनका अनुसार स्त्री रोग बिशेषज्ञ र बालरोग विशेषज्ञ चिकित्सक पठाउने गरि छलफल भएको हो । यदि दुई जना बिशेषज्ञ डाक्टर आएमा देउखुरीमै बिशेषज्ञ सेवा दिन सकिने उनको भनाई छ । अहिले देउखुरी क्षेत्रमा विशेषज्ञ सेवा प्रभाबकारी हुन सकेको छैन । लुम्बिनी प्रदेशको स्थायी राजधानीको क्षेत्रमा समेत रहेकाले बिशेषज्ञ सेवा दिनु अपरिहार्य रहेको समेत अध्यक्ष विष्टको भनाई छ । सरकारको नीति अनुसार उक्त अस्पताल हाल १५ सैयाको रुपमा सञ्चालित छ ।
हाल दाङको राप्ती, गढवा, बंगलाचुली गाउँपालिकासहित प्यूठान र अर्घाखाँचीबाट समेत विरामी आउने गरेका छन् । हाल अस्पतालमा २४ सै घण्टा आपतकालिन सेवा, बहिरंग सेवा, भिडियो एक्सरे, एक्सरे, प्रयोगशाला, सुरक्षित गर्भपतन, आमा सुरक्षा कार्यक्रम,विरामी भर्ना गर्ने इन्डोर सेवा रहेको छ । त्यस्तै प्रत्येक महिनाको अन्तिम शनिबार हाडजोर्नीको बिशेषज्ञ सेवा समेत सञ्चालनमा रहेको अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेलले बताए ।
हाल कन्सलटेन्ट एकजना, मेडिकल अफिसर चारजना, स्टाफनर्स पाँच जना, हेल्थअसिस्टेन्ट पाँच जना, अहेब पाँच जना, अनमी पाँच जना, स्टाफनर्स ५ जना, एनेस्थिेसिया असिस्टेन्ट एक जना, असिस्टेन्ट फार्मेसी १ जना रहेका छन् । त्यस्तै ल्याब टेक्निनियन १ जना, ल्याब असिस्टेन्ट ४ जना, रेडियो ग्राफर २ जना, अस्पताल प्रशासक १ जना, कम्प्युटर अपरेटर एक जना रहेका छन् । कार्यालयमा अक्सिजन सिलिण्डरसहितको सुविधा सम्पन्न एम्बुलेन्स पनि छ ।
अस्पतालमा आएका सामान्य विरामीहरुलाई बाहिर जिल्ला रेफर गर्नुपर्ने अबस्था नरहेको उनले बताए । यो संगै अपरेशन सेवा समेत सुरु गर्ने तयारी रहेको प्रशासन प्रमुख पौडेलले बताए । “अहिले हामीमा सामान्य विरामीलाई रेफर गर्नुपर्ने अबस्था पनि छैन”,उनले भने“अपरेशन सेवा समेत थप्ने गरि तयारी गरेका छौं ।”
उहाँका अनुसार अपरेशन गरेर बच्चा निकाल्ने, हर्निया, एपेन्डिसाईडलगायतका अप्रेशन गर्ने गरि सामाग्री र जनशक्ति ब्यबस्थापन गरिसकिएको छ । अबको केही समयमा उक्त सेवा सुरु गर्ने तयारी रहेको छ । सकेसम्म बिशेषज्ञ सेवा लिन टाढा जान रोक्ने गरि अस्पतालको सेवालाई विस्तार गर्न लागिएको उनको भनाई छ ।



लाइभदाङ । ४ चैत्र २०८२, बुधबार ११:५९ बजे