
दाङ, ८ फागुन ।
दाङको तुल्सीपुरमा बिहीबार राति चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा जलाइएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज जारी गरेको विज्ञप्तिमा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपाच्य शब्दसहित नाराबाजी गरिएको तथा महासचिव शङ्कर पोखरेल को गृहनगरमै यस्तो घटना हुनु आपत्तिजनक भएको उल्लेख गरेका छन्। विज्ञप्तिमा उक्त कार्यलाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य गतिविधि भन्दै संलग्नमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।
उक्त घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने आफ्नो पार्टीको नीति कुनै पनि दलको झण्डा जलाउने नभएको स्पष्ट पारेको छ। रास्वपाले घटनामा घुसपैठ भएको हुनसक्ने आशंका व्यक्त गर्दै सत्यतथ्य छानबिन गरी दोषी पहिचान गर्नुपर्ने जनाएको छ।
रास्वपाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। सभापति घिमिरेले पार्टी विधिको शासन र कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि बताएका छन्।



लाइभदाङ । ८ फाल्गुन २०८२, शुक्रबार १९:०२ बजे