
टेकराज भण्डारी
दाङ, २६ असाेज ।
नेकपा माओवादी केन्द्रभित्र सामाजिक, सांस्कृतिक र आर्थिक विचलनको विषय दाङमा बलियो रूपमा उठ्न थालेको छ। मगर राष्ट्रिय मुक्ति मोर्चा दाङको आयोजनामा आयोजित शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अधिकांश वक्ताहरूले नेताहरू सांस्कृतिक, सामाजिक र आर्थिक रूपमा पतन हुँदै गएको आरोप लगाएका छन्।
कार्यक्रम मगर राष्ट्रिय मुक्ति मोर्चा दाङका अध्यक्ष उपेन्द्र बुढा मगरको अध्यक्षता र नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। विशिष्ट अतिथि दामा शर्माले नेताहरूको विचलनले आन्दोलनका मूल्य–मान्यतामाथि प्रश्न उठाएको बताउँदै शक्तिशाली आयोग गठन गरी कारबाही गर्नुपर्ने धारणा व्यक्त गरिन्।
त्यस्तै, नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका इन्चार्ज मिलन डाँगी, जिल्ला सचिव विश्व आचार्य, र मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्यहरूले पनि नेताहरू रातारात धनी बन्न थालेको र उनीहरूको आयस्रोत स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याए।
वक्ताहरूले पार्टीभित्र आत्मसमीक्षा र पारदर्शिताको संस्कार विकास नगरे आन्दोलनको आधार कमजोर बन्न सक्ने चेतावनी समेत दिए। कार्यक्रमको सहजीकरण सचिव हर्कराज घर्ती मगरले गरेका थिए।



लाइभदाङ । २६ आश्विन २०८२, आईतवार १८:३८ बजे