सल्यानसहित २९ जिल्लामा बाढीको जोखिम

दाङ, २७ असार । सल्यानसहित २९ जिल्लामा बाढीको जोखिमबारे पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सल्यान, रोल्पा, प्युठान, रुकुम पश्चिम, रुकुम पूर्व लगायत २९ जिल्ला बाढीको जोखिम रहेको जनाएको छ ।

म्हाशाखाका अनुसार बारा, रौतहट, काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोटमा बाढीको मध्यम जोखिम रहेको छ ।

यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, जाजरकोट र कालीकोटमा पनि बाढीको जोखिम छ । बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।


आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ ।

अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।