घिमिरे दम्पतीद्वारा उत्तर बाहिनी गुरुकुल आश्रममा खाद्य सामग्री प्रदान

अनिल अधिकारी
दाङ, ११ असार ।
नेपाली कांग्रेसका युवानेता एवं महासमिति सदस्य किरणकिशोर घिमिरे र उनकी धर्मपत्नी आरती घिमिरेले आफ्नो ३६ औं वैवाहिक वर्षगाँठको अवसरमा सामाजिक सेवा गर्दै उत्तर बाहिनी गुरुकुल आश्रममा खाद्य सामग्री प्रदान गरेका छन्।

घोराही उपमहानगरपालिका–७ मा अवस्थित आश्रममा अध्ययनरत वटुकहरूको शैक्षिक तथा दैनन्दिन आवश्यकतालाई सहज बनाउने उद्देश्यले घिमिरे दम्पतीले खाद्य सामग्री सहयोग गरेका हुन्। लामो समयदेखि सामाजिक सेवामा सक्रिय घिमिरे दम्पतीले वैवाहिक वर्षगाँठलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै यो कार्य गरेका हुन्।

राजनीतिक र सामाजिक क्षेत्रमा आफ्नो सक्रिय भूमिका निभाइरहेका किरणकिशोर घिमिरेले यसअघि पनि विभिन्न प्रेरणादायी सामाजिक कार्यहरू गर्दै आएका छन्। सहयोग प्रदानपछि उनले भने, “उत्तर वाहिनी जस्तो पुण्य भूमिमा अध्ययनरत वटुकहरूलाई सानो सहयोग गर्न पाउँदा मनदेखि नै आनन्दित भएका छौं।”

उत्तर वाहिनी गुरुकुल आश्रमको स्थापना र सञ्चालन राष्ट्रगुरु योगी नरहरिनाथको प्रेरणाबाट भएको हो। दाङको कोठरी निवासी क्षमकान्त धितालले अन्दाजी २६ विघा जमिन श्री माता पवित्रा देवी सांन्गवेद विद्यालयका लागि दान दिएका थिए, जसबाट वेद अध्ययनको परम्परा थालिएको हो। हाल आश्रममा विभिन्न जिल्लाबाट आएका २५ जना वटुकहरूले वेद अध्ययन गरिरहेका छन्। कुटी परम्परालाई निरन्तरता दिँदै विद्यार्थीहरू आश्रममै बसेर अध्ययन गरिरहेका छन्।


आश्रम नजिक बग्ने सरयू गंगा नदी उत्तरतर्फ वहने भएकाले यस स्थानलाई मोक्षदायी पुण्य भूमि मानिन्छ। यस पवित्रस्थलको भौतिक पूर्वाधार विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको आश्रम व्यवस्थापन समितिका संयोजक प्रकाश भट्टराईले बताएका छन्।

घिमिरे दम्पतीले भविष्यमा पनि सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। हस्तान्तरण कार्यक्रमका दौरान नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य विर बहादुर खत्री (विरु) ले दाल, चामल, च्युरा, भुजा, आलु, जिरा, धनियाँ, साबुन लगायतका सामग्री आश्रम संयोजक प्रकाश भट्टराईलाई हस्तान्तरण गरेका थिए।

सो कार्यक्रममा नेपाली कांग्रेसका युवानेता दामोदर थापा र तेज विक्रम रावतको पनि उपस्थिति रहेको थियो।