मानपुर गौरीडाँडा खानेपानीको साधारणसभा

तुलसीपुर, १० जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५, १६ र १७ मा सेवा प्रवाह गर्दै आएको मानपुर गौरीडाँडा खानपानी उपभोक्ता तथा सरसफाई समितिको दोस्रो साधारणसभा शनिबार भएको छ ।

संस्थाका अध्यक्ष भुपबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले निःशुल्क खानेपानीको ब्यबस्था गर्नुपर्ने बताए । सोही अनुसार आफूले कदम चालेको चौधरीको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल,खानेपानी तथा सरसफाई कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, राष्ट्रिय खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वली,तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगी,समितिका सल्लाहकार तुलसी गिरी, जग्गादाता अमरराज रेग्मीलगायत बिभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अबसरमा खानेपानीको नवनिर्मित भवन समेत संस्थालाई हस्तान्तरण गरिएको थियो । जिल्ला खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयले सोही अवसरमा भवन तथा नवनिर्मित धारा कार्यालयलाई हस्तान्तरण गरेको हो ।


सोही खानेपानीले ४२० धाराबाट तीन हजार बढिलाई खानेपानी सेवा पु¥याउँदै आएको सचिब मिनराज वलीले बताए । गौरीडाँडाको एउटा ओभरहेड ट्याङ्की र डिपबोरिङ तथा लालपुरको डिपवोरिङले त्यहाँ खानेपानी आपूर्ति भइरहेको उनको भनाई छ । सोहीबाट ६ सय १४ घरधुरीलाई पानी दिन सकिने भएपनि बाँकी घरहरुमा धारा जडान गर्न नसकिएको उनले बताए ।

तर, निकट भबिष्यमै ति घरहरुमा धारा जडान गरिने समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । हाल खानेपानी सुद्धताकालागि डोजिङ मेसिन समेत जडान गरिएको छ ।

सदस्य प्रेमलाल खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब मिनराज वलीले गरेका थिए । साधारणसभाले आर्थिक तथा सांगठनिक प्रतिवेदन पारीत गरेको छ ।