मुलकोटमा अर्गानिक रैथाने बाली उत्पादन

तुलसीपुर, २९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ मुलकोटमा रैथाने वाली उत्पादनमा जोड दिईएको छ । मुलकोट कृषि सहकारी संस्थाले रैथाने वाली उत्पाननलाई जोड दिएको हो ।

कोदो,फापर,स्थानीय धान, भटमास,गहुँ,टमाटर, तिल,गहत,बोरी,टमाटरलगायतका वाली उत्पादन गर्ने गरिएको छ । ति बाली उत्पादन गरेर बजारमा विक्री गर्नुकासाथै त्यसको विउ समेत उत्पादन गरि बजारीकरण गर्ने गरिएको छ ।“हामीले सहकारी मार्फत स्थानीय उत्पादनलाई जोड दिएका छौं”,सहकारीका अध्यक्ष झरना पुनले बताईन“यसले रैथाने वालीलाई संरक्षणमा सहयोग पुगेको भने आत्मनिर्भर पनि बन्न सिकाएको छ ।”

छाया नेपालको महिला शसक्तिकरण परियोजना अन्तर्गत त्यहाँ यसरी उत्पादनमा जोडिएको हो । जसले गर्दा महिलाहरु आत्मनिर्भरको बाटोमा अघि बढेको अध्यक्ष पुनको भनाई छ । त्यहाँ विउ बैंक समेत स्थापना गरेर विउ उत्पादन समेत गर्ने गरिएको स्थानीय सविना पुनले बताईन ।

उनका अनुसार त्यहाँ ५० भन्दा बढि बाली समेत उत्पादन गर्ने गरिएको छ । महिलाहरुलाई प्राङ्गारिक मल उत्पादनदेखि प्रयोग, विउविजनको प्रयोग तथा उत्पादित बस्तु बजारीकरणमा समेत सहयोग भएको उनको भनाई छ । अहिले त्यहाँ ५० भन्दा बढि किसान आबद्ध छन् ।

यसैबीच तुलसीपुरमा आइतबार पालिकास्तरिय सिकाई आदानप्रदान कार्यशाला भएको छ । कार्यशालामा छाया नेपालका भीम प्रसाद आचार्यले मूलकोटका ५० जना महिलालाई आवद्ध गराएर सहकारीमार्फत आर्थिक तथा सामाजिक सशक्तिकरणमा जोड दिएको बताए ।


कार्यक्रममा कृषि विज्ञ गोविन्द केसीले मूलकोट क्षेत्रमा ७० प्रकारका बाली उत्पादन गर्न सकिने बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज चौधरी, ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष बिष्णु केसी, बेस नेपालका सन्तोष कुमार शर्माले तुलसीपुरलाई जैविक खेतीको पकट क्षेत्रको रुपमा विकास गर्न आवश्यक सहकार्य गरेर जाने बताए ।

छाया नेपाल र छाया अस्ट्रेलियाको सहयोगमा मुलकोट कृषि सहकारी संस्थाले एक दिने कार्यशाला गरेको हो । सहकारीका अध्यक्ष झरणा पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यशाला गरिएको हो ।

त्यस अवसरमा उपमेयर चौधरीले जैविक र रैथाने खेती प्रवद्र्धनमा तुलसीपुर उपमहानगरपालिकाले आवश्यक सहकार्य गरेर जाने बताईन् । तुलसीपुर–४ का अध्यक्ष तुलसी थापाले महिलालाई जैविक कृषि खेतीमा आवद्ध गराएर महिलाको सशक्तिकरणमा छाया नेपालले महत्वपूर्ण भूमिका खेलेको बताए ।

सविना पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहकारीका सचिव समिक्षा पुनले गरेकी थिइन ।