
दाङ, १८ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा बिहिबार बेलुका साढे ५ बजेको समयमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
घाइते हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका–५ का १९ वर्षीय सुवास परियार (मुख, टाउको र छातीमा चोट, अवस्था मध्यम), तुलसीपुर –५ का २५ वर्षीय डिल्ली बिष्ट (बाँया हातमा चोट, अवस्था सामान्य) र बबई गाउँपालिका–२ का १९ वर्षीय भिमसेन परियार (टाउको र छातीमा चोट, अवस्था मध्यम) रहेका छन्।
लु.प्र.०२–००१ ह ८८८ नम्बरको अटो साततलेबाट तुलसीपुरतर्फ आउँदै गर्दा अनियन्त्रित भई पल्टिँदा सवार तीन जना घाइते भएका हुन्। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ।
अटो चालक दंगीशरण गाउँपालिका–२ का २३ वर्षीय पूर्ण के.सी.लाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। दुर्घटनामा अटो पूर्ण रूपमा क्षति भएको र घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



लाइभदाङ । १८ बैशाख २०८२, बिहीबार २०:३४ बजे