
तुलसीपुर, ४ फागुन । दाङको तुलसीपुर ६ स्थित गोरखा मोडेल कलेजका विद्यार्थीहरुले तीन घण्टा हिडेर सरकारी विद्यालयका विद्यार्थीहरुलाई झोलासहित कपी, कलमलगायतका शैक्षिक सामग्री सहयोग गरेका छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित विकट क्षेत्र प्रतापकोटसम्म हिडेका हुन् ।
करिब १२ किलोमिटर दुरीमा रहेको सोही क्षेत्रमा विविएसमा अध्ययनरत पहिलोदेखि चौथो बर्षसम्मका विद्यार्थीहरुले हाइकिङ गरेका हुन् । स्वास्थ्यका हिसाबले पनि राम्रो हुने, सामाजिक र मानसिक हिसाबले पनि राम्रो हुने भएकाले बर्षमा एक पटक पैदल हिडेर प्रतापकोट पुग्ने गरेको कलेजका प्रमुख पूर्ण विक्रम डाँगीले बताए । उनका अनुसार सोही स्थानको मावि प्रतापकोटमा विद्यालयको मितेरी सम्बन्ध रहेकाले विद्यार्थीहरुले त्यहाँका विद्यार्थीहरुलाई सहयोग गर्नकालागि हिडेरै पुगेको विद्यार्थी सुरेश रावतले बताए । उनका अनुसार विगतका बर्षमा पनि त्यहाँ पुगेर शैक्षिक सामग्री सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने बताए । विद्यार्थीहरुले २० जना विद्यार्थीहरुलाई सहयोग गरेका हुन् । खाजा खर्च कटाएर बर्षेनी यस्तो सहयोग गर्दै आएको उनको भनाई छ।
गरीब तथा विपन्न समुदायका विद्यार्थीहरु पढ्ने भएकाले आर्थिक अबस्था कमजोर भएकै कारण पढाई प्रभावित नहोस्, भनेर बर्षेनी यसरी सहयोग गर्ने गरिएको गोरखा ग्रुपका शैक्षिणिक निर्देशक दुर्गा केसीले बताए । उनले यस अघि पनि विद्यालयमा रंगरोगन, बेन्च, डेस्क प्रदान गर्नुकासाथै अन्य आबश्यक सामग्रीहरु पनि सहयोग गरेको बताए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने कुरामा निजि विद्यालयले पनि सहयोग गर्नुपर्ने भन्दै कमजोर अबस्थाको विद्यालयसंग मितेरी सम्बन्ध कायम गरिएको उनको भनाई छ । साथै विद्यालयलाई केही समयमा डिजिटल बोर्ड समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । त्यतै गोरखाका ब्याचलर लेभलका विद्यार्थीहरुलाई परिचालन गरेर सोही विद्यालयको कोर्ष पूरा नभएमा पढाउने वातावरण पनि तयार गर्ने बताए । विद्यालयसम्म पुग्ने खर्च गोरखाले प्रदान गर्ने र शिक्षक अभाबमा बाँकी रहेको कोर्षलाई पूरा गर्ने तयारी रहेको उनले बताए ।
सोही अवसरमा नियमित यस्ता कार्यक्रमले आफूहरुलाई हौसला प्रदान भएको विद्यालयका प्रधानाध्यापक टेकप्रसाद भण्डारीले बताए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिलाबहादुर बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखाका सञ्चालक समिति सदस्य राजीव वली, सोही विद्यालयका पूर्व शिक्षक मेघराज पोख्रेललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शुसिल गिरीले गरेका थिए ।
फोटो फिचर



लाइभदाङ । ४ फाल्गुन २०८१, आईतवार १०:४० बजे