प्रचण्डले दाङको सन्दर्भमा उठाएका मुद्दा र बहस

दीपक बोहरा
दाङ, १४ माघ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) दाङमा दुई दिन बसे । शुक्रबार र शनिबार दाङ बसेका उनले दाङका सवालमा केही विकास निर्माणका कुराहरु पनि जोड दिए । उनले बिशेष गरि आफू प्रधानमन्त्री हुँदा होस्, वा पार्टीका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको पहलमा भए गरेका विकासका कुराहरूमा जोड दिए ।

उनले जोडेका विषयहरू यी थिए :
१) टरिगाउँ एयरपोर्ट :
टरिगाउँ एयरपोर्टमा लामो समयदेखि नियमित हवाई सेवा उडान हुन सकेको छैन । त्यसको धावन मार्ग हाल ७ सय ५० मिटर मात्रै लम्बाई छ । त्यसलाई बढाएर एक हजार ५ सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज बस्न सक्छन् । यदि त्यसको धावन मार्ग विस्तार हुन नसकेमा उक्त विमानस्थल बन्द हुने अबस्था आउन सक्ने छ । दाङका सबै पार्टीका प्रभाबशाली नेताहरू नै एक मत नहुँदा यसरी अन्यौल भएको अबस्थामा प्रचण्डले दाङमा आएर विमानस्थलको स्तरबृद्धि जसरी पनि गर्ने प्रतिबद्धता जनाए । उद्यपी उनी प्रधानमन्त्री हुँदा माओवादी कै लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री थिए । उनै विष्टले नै उक्त विमानस्थल कालोपत्रे गरेका हुन् । यसलाई आफ्नो पार्टी सरकार हुँदा स्तरवृद्धिकालागि काम गरिरहेको भन्दै यसलाई स्तरवृद्धि गर्न पहल लिने प्रतिवद्धता प्रचण्डको थियो ।

२) घोराही–तुलसीपुर चारलेन
२०७५ सालमा दाङको घोराही–तुलसीपुर चारलेन निर्माणको सडक निर्माण सुरु भएको थियो । तर, पाँच वर्षसम्म पनि त्यो सडक निर्माणको कार्य अलपत्र भयो । सडक अलपत्र हुँदा दुर्घटनाबाट धेरैको मृत्यु भयो । उक्त सडक एउटा मृत्यु मार्ग जस्तै बनेको थियो । भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक बन्न लागेको थियो । त्यो ठेक्का रद्द गर्न पनि निकै कठीन थियो । निर्माण गर्दा पनि अधिकांश भारतकै सामग्री ल्याउनु पर्ने, उसकै कानुनमा चल्नु पर्ने सम्झौता थियो ।

नेपाल सरकारले चाहेर पनि न त त्यो ठेक्का सहजै रद्द गर्न सक्ने अवस्था थियो, न त त्यो सडकका खाल्डा खुल्डी नै पुर्न सक्ने अवस्था थियो । त्यसपछि प्रचण्ड आफै प्रधानमन्त्री र दाङ क्षेत्र नं.२ बाट निर्वाचित रेखा शर्मा हुँदा नै त्यो चारलेन सडकको ठेक्का रद्द गरिएको थियो । अब यसलाई नयाँ ढंगबाट टेन्डर गर्नुपर्छ र नेपाल सरकारले नै स्रोत सुनिश्चित गर्नुपर्छ, भन्ने मान्यता अनुरुप यस क्षेत्रका सांसद शर्माले प्रक्रिया अगाडी बढाएकी थिइन् । जुन सरकारको नेतृत्वमा प्रचण्ड नै थिए । त्यसैले पनि यो चारलेनको काम अघि बढाउने कुरामा पार्टीले पहल लिइरहेको र अपनत्व लिने कुरा प्रचण्डले बताए ।

शर्मा मन्त्री हुँदा लिएको पहललाई अहिले एमाले नेता शंकर पोखरेलले अगाडी बढाईरहेका छन् । मदन भण्डारी राजमार्ग निर्देशनालयको बजेटले त्यो काम अगाडी बढाउने गरि ठेक्का गर्ने तयारी गरिरहेको पोख्रेलले सार्वजनिक कार्यक्रममै बताउने गरेका छन् ।

३) नेपाल संस्कृत विश्वविद्यालय
नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोह १२ वर्षसम्म पनि भएको थिएन । त्यहाँ भित्र गन्जागोलको अवस्था थियो । यो कुरा प्रचण्ड प्रधानमन्त्री हुँदा थाहा पाए । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ । दिक्षान्त समारोह नहुँदा धेरै विद्यार्थीहरुको दिक्षित हुने सपना तुहिएको थियो । तर, प्रचण्डले नै दिक्षान्त समारोह गर्न निर्देशन गरे र आफै आएर विद्यार्थीहरुलाई दिक्षित गरेका थिए । विश्वविद्यालयको दिक्षान्त समारोह प्रत्येक वर्ष गर्नुपर्नेमा संस्कृत विश्वविद्यालयमा त्यसो हुन सकेको थिएन । संस्कृत बाङ्मयको केन्द्र रहेको यसलाई अध्ययन, अनुसन्धानको पनि केन्द्र बनाउने गरि आफू प्रधानमन्त्री हुँदा काम गरेको र अहिले पनि यसको अपनत्व पार्टीले लिने बताए । यसलाई अझै विकसित गर्ने सन्दर्भमा आफू सधै पहल लिने प्रचण्डको भनाई थियो ।

४) ग्वारखोलामा हाइड्याम्प बनाउने कुरा
दाङको तुलसीपुरमा खानेपानी क्षेत्रलाई आपूर्ति गर्नेमात्रै नभई सिंचाई, पर्यटन तथा प्रयावरणीय हिसाबले उत्तम मानिने भएकाले यसलाई अगाडी बढाउने कुरा लुम्बिनी प्रदेशका पूर्व मन्त्री धनबहादुर मास्कीले अगाडी ल्याएको बहस हो । उनले आफ्ना हरेक भाषणमा ग्वारखोला हाइड्याम्पको सपना रहेको बताउँछन् । त्यसलाई प्रचण्डले पनि पहल गर्ने कुरा प्रतिबद्धता जनाए । जुन हाइड्याम्पको सम्भाव्यता अध्ययनका लागि अर्थमन्त्री हुँदा एक करोड बजेट छुट्याएका थिए ।


५) थारु राजा दंगीशरणको इतिहास जोगाउने कुरा
दाङको एतिहासिक थारु राजा दंगीशरणले राज गरेको स्थल तुलसीपुर उपमहानगरपालिका वडा नं.११ ओझेलमा छ । त्यहाँको एतिहासिक चिजलाई प्रचार प्रसार तथा संरक्षण गर्न आवश्यक छ । दंगीशरण राजाकै नाम भजाएर अन्यत्र व्यापार भएको छ । तर, जुन इतिहास हो,त्यसलाई जोगाउन तर्फ ध्यान नदिएको कुरालाई मध्येनजर गरि यसलाई संरक्षणमा ध्यान दिने प्रचण्डको भनाई छ ।

६) प्रदेशको राजधानी राप्ती उपत्यका
माओवादी केन्द्र र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको बेला लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी स्थित राप्ती उपत्यका सारिएको थियो । त्यो भन्दा अघि बुलवलमा अस्थायी राजधानी राजधानी तोकिएको थियो । तत्कालिन नेकपाका नेता शंकर पोखरेल मुख्यमन्त्री हुँदा स्थायी राजधानी दाङ सारिएपनि कामकाज बुटवलबाट हुँदै आएको थियो । तर, पछि नेकपामा विभाजन भएर माओवादी केन्द्र र एमाले पुरानै अबस्थामा फर्किएपछि लुम्बिनी प्रदेशमा पोखरेलको सरकार ढल्यो । उनको सरकार ढलेपछि माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भए । केसी मुख्यमन्त्री हुँदा प्रदेशको कामकाज दाङको लालमटिया स्थित प्राविधिक शिक्षालयबाट कामकाज सुरु गरियो । स्थायी राजधानी तोकिएको स्थान प्रदेशको बीच भागमा पर्ने स्थान हो । यसलाई विकसित गर्ने प्रचण्डले बताए ।

७) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रचण्डले बोलेको अर्को कुरा हो– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । उनले आफू प्रतिष्ठानमा हुँदा एमविविएस सञ्चालन गरेको बताएका छन् । त्यस्तै ३० करोड बजेट पनि बिनियोजन गरेको तथा चारसय सैया बनाएको बताए । अब पनि यसलाई स्तरबृद्धि गर्न पार्टीको तर्फबाट पहल गर्ने बताए ।

यी योजनाहरू जिल्लाका गौरबको योजनाका रुपमा रहेकाले यसलाई विशेष ध्यान दिने उनले बताए । साभारः अग्रिम साप्ताहिक