तुल बहादुर कवँर मगर
भालुबाङ, १४ मंसिर।
दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ। विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीहरुलाई सो प्रशिक्षण दिएको हो।
विद्यार्थीहरुको शारीरिक,मानसिक,नैतिक विकास गर्दै अनुशासित र जिम्मेवार नागरिक बनाउने उदेश्य उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलले बताउनुभयो ।
राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चौधरीले पछिल्लो समय आधुनिक जीवनशैली, प्रविधिमा बढी निर्भरत र परिवारभित्र समय अभाव जस्ता कारणले परम्परागत संस्कार र योगजस्ता शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी अभ्यासमा विद्यार्थीहरूको चासो घट्दै गएको बताउदै यस्ता कुराहरु निरन्तर सिकाउन आवश्यक रहेको बताउनुभयो ।
मंसिर ११ देखि १३ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रमको प्रशिक्षकमा योगगुरु रविन्द्र बस्नेत रहनु भएको थियो । योग गुरु बस्नेतले शिविरमा सहभागी विद्यार्थीहरुलाई योगासन, ध्यान मुद्रा, प्राणायाम आहार विहार चर्या जस्ता प्रयोगात्मक ज्ञान सहितको प्रशिक्षण दिनुभएको थियो ।
लाइभदाङ । १४ मंसिर २०८१, शुक्रबार ०८:०० बजे