विद्यालयमा थारु भाषाको कक्षा पठन–पाठन गर्न माग

तुलसीपुर
९ माघ / दाङ तुलसीपुरका थारु अगुवाहरुले विद्यालयमा थारु भाषाको कक्षा पठन–पाठनको माग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ र १५ का अगुवाहरुको आईतबार भएको भेलाले विद्यालयमा थारु भाषा पठन–पाठनको माग गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ स्थित किसान प्राबि मटेरा, तुलसीपुर १५ को कोठरी आधारभूत विद्यालय र सोही वडाको बालचेतना आधारभूत विद्यालयमा थारु भाषाको कक्षा सञ्चालन गर्न माग गरेका हुन् ।“हामीले अहिले जसरी पढाई भइरहेको छ, त्यसमा बहुभाषिक कक्षा पढाईकालागि माग गरेका छौं”, स्थानीय थारु अगुवा कुलबहादुर चौधरीले भने“हामीले ति विद्यालयमा थारु भाषामा पठन–पाठनको माग गरेका हौं ।”

दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला भएको भन्दै थारु भाषामा पठन–पाठन गराउनु पर्ने उनको भनाई थियो । थारु समुदायमा हुर्किएको बच्चाले अरु भाषामा पढाउदा बुझ्न सक्ने अबस्था न्यून रहने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने समेत उनको भनाई थियो ।


त्यस्तै थारु अगुवाहरुको भेलाले तुलसीपुर १५ मा वडा स्तरीय थारु कल्याणकारीणी सभा उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ । त्यसकालागि रोहित कुमार चौधरीको अध्यक्षतामा भेला आयोजक कमिटि गठन गरेको छ । जसको सचिबमा गणेश चौधरी,कोषाध्यक्षमा भगवति चौधरी र सदस्यमा किरण चौधरीलाई चयन गरिएको छ ।

त्यसतै सल्लाहकारमा कुलबहादुर चौधरी, रामबहादुर दहित,भिम चौधरी,परशु नारायण चौधरी, लक्षमण चौधरीलाई चयन गरिएको छ ।