पत्रकार महासंघको चुनावी कार्यतालिका सार्वजनिक

काठमाडौं, ३० भदौ ।
आउँदो असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासङ्घको चुनावी कार्यतालिका सार्वजनिक भएको छ । महासङ्घको निर्वाचन समितिले शनिबार बेलुका सार्वजनिक गरेको कार्यतालिकाअनुसार नामावली प्रकाशन भएको छ भने असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

यस्तै उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते बेलुका ५ बजे हुनेछ । उम्मेदवारमाथि दाबी विरोध असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते दिउँसो २ बजेसम्म रहेको छ । उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते बेलुका ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म रहेको छ ।


उम्मेदवारको अन्तिम नामावली असोज ५ गते बेलुका ६ बजे प्रकाशन हुनेछ । कार्यतालिकाअनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ ।

संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखामा मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । कार्यतालिकाअनुसार मतदान असोज १२ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुने र मतगणना पनि मतदानको काम सकिएलगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।