राप्तीमा मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन कार्य शुरु हुँदै

तुल बहादुर कवँर मगर
देउखुरी, ५ असार ।
दाङको राप्ती गाउँपालिकाले मुक्त कमैया तथा छुट कमैयाहरुको लगत संकलन कार्य शुरु गर्न लागेको छ।

गाउँपालिकाले छुट कमैयाहरुको लगत संकलन गरि उनीहरूलाई विभिन्न प्रकारका परिचयपत्र प्रदान गर्ने उदेश्यले तथ्यांक संकलन गर्न लागेको हो । गाउँपालिकाले बुधबार तथ्यांक संकलनमा खटिने गणकहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ।

एक्सन एड नेपालको सहयोग तथा मुक्त कमैया समाज र कमैया महिला जागरण समाजको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मुक्त कमैया घोषणा भएको २३ वर्ष बितिसक्दा पनि उनीहरूको अहिले सम्म उचित व्यवस्थापन हुन नसक्नु दुःखद भएको बताउनुभयो।

त्यस्तै अध्यक्ष विष्टले मुक्त कमैयाहरुको तथ्याङ संकलन गरी उनीहरुको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । मुक्त कमैयाहरुको समस्या समाधान गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने अध्यक्ष विष्टको भनाई थियो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले तथ्यांक संकलनमा खटिने गणकहरुलाई सत्यतथ्य विवरण संकलन गर्न निर्देशन दिदै गैर कमैया पर्न नहुने बताउनुभयो।


छुट मुक्त कमैयाहरुको लगत संकलन गरी उनीहरुलाई परिचय पत्र प्रदान गर्नुका साथै राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदानका लागि सहजताका लागि तथ्यांक संकलन गर्न लागिएको पालिकाले जनाएको छ। गाउँपालिकाको १ देखि ८ वडा सम्म असार ६ गते देखि १६ जना गणकहरु खटाउन लागेकोले सहि विवरण टिपाउन समेत आग्रह गरेको छ।

राप्ती गाउँपालिकामा हाल सम्म रातो कार्ड १ सय ७४, निलो कार्ड १ सय ६८, पहेलो कार्ड १सय ४९ र सेतो कार्ड २ सय ७४ जना गरी कुल ७ सय ६५ जनाले परिचयपत्र पाइसकेका छन् । भने ८ सय १५ जनाले विभिन्न प्रकृतिका परिचयपत्र पाउन बाँकी रहेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, मुक्त कमैया समाज दाङका अध्यक्ष तथा केन्द्रिय महासचिव हरिचन्द्र चौधरी, कमैया महिला जागरण समाज दाङकी अध्यक्ष सुनरुपी चौधरी लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वली, वडा अध्यक्षहरु, वडा सचिवहरु र गणकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको विषयवस्तु बारे जानकारी कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र चौधरीले गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गर्नु भएको थियो ।