लाइन चुडिँदा रोल्पा–प्यूठान अन्धकार

रोल्पा, २० जेठ ।
शनिबार रातिको हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन अन्तर्गत दाङको लमहीदेखि रोल्पा र प्यूठान पुर्‍याउने मुख्य लाइन चुडिँदा दुई जिल्ला अन्धकार छन् ।

प्राधिकरणको रोल्पा वितरण केन्द्रका अनुसार शनिबारको अत्यधिक हावाहुरीले उक्त लाइन चुडाइदिएको हो। केन्द्र प्रमुख अशेश्वर साहका अनुसार लाइन चुडेको स्थान प्यूठानस्थित विद्युत प्राधिकरण कार्यालय र बुटवल पावर कम्पनीको संयुक्त टोलीले आइतबार दिउँसो मात्रै पत्ता लगाएको हो। ‘दाङको लमही र प्यूठानको सीमा नजिकै मुख्य लाइन चुडिँएको छ। बनाउन समय लाग्छ’,साहले भने।

लमहीदेखि रोल्पा र प्यूठानसम्म १ सय ३२ केभी प्रशारण लाइन ल्याइएको छ। विद्युत लाइन अभावमा दुवै जिल्लाका सरकारी कार्यालयको काम प्रभावित भएको छ। बिजुली नहुँदा जिल्ला प्रशासन कार्यालयले राहदानी र नागरिकतालगायत महत्त्वपूर्ण कागजात वितरण गर्न रोकेको रोल्पा प्रशासनका सूचना अधिकारी पदम डाँगीले बताए ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बिजुली नै नभएपछि आइतबार मध्याह्नदेखि अनलाइन मार्फत गरिने काम रोक्नुपरेको बताए। बिजुली अभावमा जिल्लाका उद्योग, व्यवसाय, बैंकिङ क्षेत्र, विद्यालय र जनसाधारणलाई प्रभावित बनाएको छ।


विद्युत प्राधिकरण रोल्पा केन्द्रले निरन्तर काम भएमा सोमबारसम्म लाइन जोड्न सकिने जनाएको छ। सडक नपुगेको र निकै अफ्ट्यारो स्थानमा लाइन चुडिएकोले मर्मत गर्न समय लाग्ने भएको हो।

बिजुली नहुँदा संचार माध्यम पनि प्रभावित छन्। स्थानीय रेडियोहरुले प्रसारण बन्द गरेका छन् भने डिजिटल प्रविधिका ब्यापारलाई समेत प्रत्यक्ष प्रभावित बनाएको छ। यस्तै दुई जिल्लाका हजारौं सेवाग्राहीको घरहरु अँध्यारोमा छन्।

यसैबीच शनिबार रातिको हावाहुरीले रोल्पामा आधा दर्जन घर, विद्यालयमा समेत क्षति पुर्‍याएको छ। प्रहरीका अनुसार हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।