रुकुम पश्चिम, १९ जेठ ।
रुकुम पश्चिममा निर्माणाधीन सडकको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१० निवासी अन्दाजी ५२ वर्षिया नौली बिक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार चौरजहारी नगरपालिका–१३ स्थित आफन्तको घरबाट फर्कने क्रममा घर नजिकै पुगेको बेला माथिल्लो सडकबाट आएको ढुङ्गा लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतीको लागि उक्त स्थानमा डोजरले बाटो खनिरहेको छ । करिब १५० मिटर तलको बाटो हिडिरहेको बेला निर्माणाधिन सोहि सडकबाट आएको ढुङ्गाले लागेर उहाँको मृत्यु भएको हो । एकल महिला रहेकी मृतक बिकका एक छोरा र दुई छोरी छन् ।
यसअघि पनि सोहि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लाइभदाङ । १९ जेष्ठ २०८१, शनिबार १०:३० बजे