देउखुरी,२० फागुन ।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं.१ र पुरुष तर्फ वडा नं.२ विजयी भएका छन्।
राप्ती गाउँपालिका वडा नं.३ मसुरीया स्थित श्रीचौर खेलमैदान आइतबार सम्पन्न फाइनल खेलमा महिला तर्फ वडा नं.१ ले वडा नं.३ लाई ३–१ को गोल अन्तरले हराउँदै विजयी भएको हो।
त्यस्तै पुरुष तर्फ वडा नं.२ ले वडा नं.१ लाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै विजयी भएको हो। पुरुष तर्फको खेलमा वडा नं.१ उपविजेता भएको छ ।भने महिला तर्फको खेलमा वडा नं.३ उपविजेता भएको छ।
यसैगरी महिलाहरुको खेल तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै वडा नं.१ कि मनिषा कुमाल उत्कृष्ट खेलाडीको रुपमा र खेल अवधिभर सबै भन्दा धेरै ३ गोल गरेको भन्दै वडा नं.३ कि बिहानी पुन मगरलाई उत्कृष्ट गोलकर्ताको रुपमा सम्मान गरिएको छ।
त्यस्तै पुरुषहरुको खेल तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै वडा नं.२ का अमित चौधरी उत्कृष्ट खेलाडीको रुपमा र खेल अवधिभर सबै भन्दा धेरै ६ गोल गरेको भन्दै वडा नं.१ का प्रदिप सुनारलाई उत्कृष्ट गोलकर्ताको रुपमा सम्मान गरिएको छ।
प्रतियोगिताका बिजेता महिला तथा पुरुष दुबै टिमले ४०४० हजार तथा उप विजेता टिमले ३०र३० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। विजेता खेलाडीहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट ,उपाध्यक्ष कमलापती चौधरी तथा वडा अध्यक्षहरुले हार्दिक बधाई दिदै नगदसहित कप, मेडल तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका महिला र पुरुष गरि १६ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता गत १८ गते शुक्रबारदेखि सुरु भई २० गते आइतबार सम्पन्न भएको हो।
लाइभदाङ । २० फाल्गुन २०८०, आईतवार २१:४५ बजे