राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, ९ फागुन ।

राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ ।

सभाले राप्ती गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, भूमि विधेयक २०८०,कृषि तथा पशुपंक्षी विधेयक २०८० , मदिरा तथा हलुका पेय पदार्थ (व्यवस्थापन तथा नियमन) विधेयक २०८० र आर्थिक ऐन २०८० को संशोधन सम्बन्धि विधेयक पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै गाउँसभाले गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार पेश भएका गाउँपालिकाको न्यायिक समितिको प्रगति प्रतिवेदन,योजना अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन,सार्वजनिक लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को स्वीकृत बजेट तथा कार्यक्रमको स्रोतान्तर तथा रकमान्तर प्रस्ताव अनुमोदन गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो।

सभामा गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको प्रगति समिक्षा प्रतिवेदन गाउँसभाका सचिव एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले प्रस्तुत गर्नु भएको थियो ।


सभाको शून्य समयमा सभाका सदस्यहरुले समसामयिक विषयमा जिज्ञासा राख्नु भएको थियो भने सभाका सभा अध्यक्ष प्रकाश विष्ट ,उपाध्यक्ष कमलापती चौधरी,सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शाखाका शाखा प्रमुखहरुले उठेको जिज्ञासाहरुको उत्तर दिनुभएको थियो ।

गाउँसभा समापन समारोहलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समग्र विकासको लागि प्रयत्नशील रहेको बताउनुभयो।

त्यस्तै उहाँले जनताको सेवाको लागि जनप्रतिनिधि होस् या कर्मचारी सबै आत्मा सन्तुष्टिका साथ लाग्नुपर्ने बताउदै शिक्षा,  स्वास्थ्य , उद्धमशीलता लगायत फोहोरमैला व्यवस्थापनको काम निरन्तर भई रहेको बताउनुभयो ।

गाउँ पालिकाको गौरवको योजनाको रुपमा रहेको राप्ती चक्रपथ लाई विस्तार गर्नका लागि प्रदेश सरकार समक्ष प्रस्ताव पेश गरेको समेत जानकारी दिनु भयो । गाउँ सभा गत पुस २६ गते सुरु भई फागुन ८ गते मंगलबार सम्पन्न भएको हो।