घोराही सिमेन्टसहित चार उद्योगको काटियो विद्युत

दाङ, ८ पुष ।
विद्युत महशुल नबुझाउने दाङको घोेराही सिमेन्ट उद्योगसहित चार उद्योगको विद्युत काटिएको छ । लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको हो ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ ।


प्राधिकरणका अनुसार जगदम्बाले मात्रै चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड, घोराही सिमेन्टले एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।

पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो ।