पञ्चकुले, २० मंसिर ।
दाङको बबई गाउँपालिका वडा नम्बर ६ मा ३२ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । गत मंसिर ९ गते बबई गाउँपालिकाको शभाहलमा उद्घाटन गरेर वडा केन्द्रित कार्यक्रम गर्ने बताएको बबई गाउँपालिका महिला बालबालिका शाखाले मंगलबार वडा नम्बर ६ अन्तर्गत भानुभक्त माध्यामिक विद्यालय परिसरमा नाटक प्रर्दशन गराएको हो ।
बबई गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम तथा संगिना संरक्षण मञ्च नेपालका कलाकारहरुले अभिनय गरेको जनचेतनामूलक नाटक प्रदर्शन गरिएको थियो ।
संगिना संरक्षण मञ्च नेपालका महासचिव रामप्रसाद सुवेदीले लेखन तथा सम्पादन गरेको नाटकमा सन्तराम सुनार, राजकुमारी बुढा, लिला बुढाथोकी र जुनु खड्काले अभिनय गरेका छन् भने नाटकको निर्देशन अर्जुन परियारले गर्नुभएको छ ।
बबई गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इश्वरा रावतले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षकका रुपमा आइ.एन.एफ द्धारा सञ्चालित एक्टिभ परियोजना दाङका सुपरभाइजर चुलु चौधरी र इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी साहायक निरीक्षक सिबलाल पौडेल रहनुभएको थियो ।
गत मंसिर १२ गते वडा नम्बर ७ को चरकमटिया, मंसिर १५ गते वडा नम्बर ५ को वडा कार्यालय परिसरमा जनचेतनामूलक नाटक प्रदर्शन गरिएकोमा मंगलबार वडा नम्बर ६ अन्तर्गत भानुभक्त माध्यामिक विद्यालय परिसरमा नाटक प्रर्दशन गरिएको हो ।
बाकि अन्य ४ वटा वडामा पनि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम तथा संगिना संरक्षण मञ्च नेपालको जनचेतनामूलक नाटक प्रस्तुत गरिने बबई गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इश्वरा रावतले बताउनुभएको छ ।
लाइभदाङ । २० मंसिर २०८०, बुधबार १३:४२ बजे