राप्ती–४ मा गरिबी निवारणकोलागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, १५ मंसिर ।
राप्ती गाउँपालिका वडा नं.४ मौरीघाटमा गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा वडाका सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

राप्ती गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष बीर बहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।


उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले उद्यमशिलताको तालिम स्थानीय तहमा रोजगारी सिर्जना गरी लघु उद्यमीहरुको विकास गर्ने कुरामा केन्द्रित रहेको बताउनुभयो ।

गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत लक्षित समूहको चाहना तथा माग, बजार सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा उद्यमशिलताको विकास गरिने उद्यम विकास शाखाकी प्रमुख बीनिता चौधरीले बताउनुभयो ।

वडाका सरोकारवाला नागरिकहरुको सहभागीता रहेको कार्यक्रममा गाउँपालिकाका प्रशासन प्रमुख विकास ज्ञवाली, समाजसेवी हुकुम बहादुर बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण लघु उद्यम विकास शाखाकी प्रमुख बीनिता चौधरी र सहजकर्ता अमिता चौधरीले गर्नु भएको थियो ।