राप्तीमा श्रमदान मार्फत विरुवाको संरक्षण गरिदै

तुल बहादुर कवँर मगर
देउखुरी, १६ कार्तिक ।
राप्ती गाउँपालिका दाङले गत असार र श्रावण महिनामा पालिकाका विभिन्न स्थानमा रोपेका विरुवाहरुको श्रमदान मार्फत संरक्षणको काम थालेको छ।

गाउँपालिकाले पालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा गत सोमबार देखि वडा नं.८ को शंकर सामुदायिक वन क्षेत्रमा लगाइएको फलफूलका विरुवाको वरपरका झाडी सफाई तथा गोड मेल गरि संरक्षणको काम गरिरहेको छ।

वृक्षरोपण गरेर मात्रै नहुने भन्दै रोपिएका विरुवाहरुको संरक्षण गर्न थालिएको हो। समाजसेवी व्यक्तिहरुको सहभागीतामा दैनिक बिहान ६ बजे देखि ८ बजे सम्म करिब २ घण्टा श्रमदानबाट सो काम भई रहेको छ। पालिकाका अध्यक्ष प्रकाश विष्टले बाटोमा भन्दा माटोमा पसिना बगाउन युवाहरूलाई आग्रह गर्नु भएको छ।


‘हामीहरुले दैनिक मोर्निङ्ग वाक गरेर बाटोमा पसिना बगाई रहेका हुन्छौं’ अध्यक्ष विष्टले भन्नुभयो ‘त्यो भन्दा श्रमदानमा जोडिएर माटोमा पसिना बगाऔं ,त्यसले श्रम गर्ने संस्कृतिको विकास सँगै देशको पनि विकास हुन्छ।’

आजकाल दैनिक बिहान करिब ५ बजे उठ्ने र पैदल सो क्षेत्र सम्म पुगेर विरुवाहरुको संरक्षणका लागि झाडी सफाई तथा गोड मेल गर्ने गरेको अध्यक्ष विष्टले बताउनुभयो ।

खाली रहेको वन क्षेत्रलाई सदुपयोग गर्दै पालिकालाई फलफूलमा आत्मा निर्भर बनाउने लक्ष्य पालिकाले लिएको छ। उक्त वन क्षेत्र सँगै अन्य विभिन्न स्थानमा गरि पालिकाले यस वर्ष मात्रै करिब ३५ सय फलफुल प्रजातिका विरुवाहरु रोपेको छ। यसबाट स्थानीय स्तरमै रोजगारीको सिर्जना गरी युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्ने उदेश्य पालिकाको रहेको छ।