टेकराज भण्डारी
दाङ, १६ असोज ।
किसानहरूले मागे जति तोरीको बिउ नपाउने गरेको गुनासो गरेका छन् । दाङ तुलसीपुरका किसानले विगतमा पनि मागे जति बिउ नपाएको र अहिले पनि माग गरे अनुसार पाउने अबस्था नरहेको गुनासो गरेका छन् ।“अहिले तोरीको सिजन छ, तोरीको विउ कृषि महाशाखामा माग गरेका छौं”, तुलसीपुर ७ खाद्रेका शैलेश शर्माले भने “पोहोर साल पनि मागे जति पाएनौं, यस वर्ष पनि मागे जति पाउने अवस्था छैन ।”
बिउका लागि कहिल्यै कृषि ज्ञान केन्द्रमा जाने गरेको त, कहिल्यै कृषि शाखामा पुग्ने गरेको उनको गुनासो छ । तोरीको बिउ नपाउँदा परम्परागत जातकै बिउ प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । परम्परागत बिउ प्रयोग गर्दा उत्पादन पनि कम हुने गरेको उनको गुनासो छ । “फाराम भर्ने भनेर फाराम भर्छौ तर, पनि भने जति पाइदैन”, तुलसीपुर ६ मोतिपुरका कृषक दुर्गा प्रसाद जैसीले भने “तर, भनेजति पाउन सकिएको छैन ।” उन्नत जातको बिउ पाए उत्पादन पनि धेरै हुने भएकाले कृषि शाखाले यसमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखाले गएको वर्ष ५५ क्वीन्टल तोरीको बिउ वितरण गरेको हो । तर यस वर्ष तोरीको बिउ घटेको छ । शाखाका अधिकृत कुलराज दहितका अनुसार यस वर्ष विगत भन्दा कम बिउ आएको छ । “एक पटक दिएको बिउ तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ”,उनले भने “यो वर्ष पनि धेरै किसानले फाराम भर्नुभएको छ, तर, थोरै बिउ मात्रै आएको छ ।” एक कठ्ठामा तीन सय ३० ग्राम भए पुग्छ, तर, किसानले त्यो भन्दा धेरै बिउ माग्दा समस्या हुने गरेको उनको भनाई छ ।
विगतमा पाएका किसानलाई ‘भेरिफाई’ गरेर अहिले नयाँ किसानलाई दिने गरि तयारी गरिएको अधिकृत दहितले बताए । सरकारले ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने गरेका छन् । तोरीको बिउको मूल्य दुईसय २० रूपैयाँ किलो पर्छ । ५० प्रतिशत अनुदान दिदा एक सय १० रुपैयामा तोरीको बिउ उपलब्ध हुँदै आएको छ । तुलसीपुरमा तोरी खेति गर्ने किसान करिब पाँच सय छन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १६ आश्विन २०८०, मंगलवार ११:३१ बजे